नोवेल कोराना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै इनरुवा नगरपालिकाले सेवाग्राहीका हकमा सेनिटाइजरको प्रयोग अनिवार्य गरेको छ ।इनरुवा नगरपालिका पुग्ने जो कोहीले सेनिटाइजर प्रयोग गरी हात सफा गरेपछि मात्र कार्यालय प्रवेश गर्न पाउने छन् ।कार्यालयको गेटमा खटिएका नगर प्रहरीले सेवाग्राहीका अलावा अन्य आगन्तुकहरुलाई सेनिटाइजरले हात सफा गर्न आग्रह गर्छन् । त्यसपछि मात्र कार्यालय प्रवेशकालागि इजाजत दिने गर्छन् ।

नगरपालिकाले सावधानी अपनाउन भन्दै सेनिटाइजरको बन्दोवस्ती सहित नगर प्रहरीलाई कार्यालय परिषरमा खटाएको छ ।व्यक्तिगत सरसफाई र कोरोनाको जोखिमलाई मध्यनजर गरी कार्यालय प्रवेश अघि सेनिटाइजरले हात सफा गर्ने व्यवस्था मिलाएको नगर प्रमुख राजन मेहताले बताए । मेहताले नगरमा कोरोना सम्वन्धि सचेतना र आवश्यक अन्य तयारी सहितका काम समेत थालिएको बताए ।मेहताले स्वास्थ्य संस्थाहरुकालागि आवश्यक सामाग्रीहरु समेतको बन्दोवस्ती मिलाएको बताए । उनले बजार तथा सर्वसाधारणको बढी आउजाउ हुने स्थानमा सेनिटाइजरले हात सफा गर्ने तथा साबुन पानीले हात धुने व्यवस्था मिलाउन लागिएको समेत बताए ।नगरपालिकाको कार्यालयले आवश्यकता अनुसार हेल्प डेस्क समेतको प्रवन्ध मिलाउने जनाएको छ । नगरपालिकाले कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिनुका सचेत र सजक रहन नगरवासीमा आग्रह समेत गरेको छ ।








