- अमर काफ्ले

इनरुवा। इनरुवा अस्पताल अर्थात स्थानीय भाषामा रेफर लिन पुग्ने अस्पताल । जहाँ पुग्ने विरामीले प्राथमिक उपचार त पाउँछन तर औषधी भने पाउँदैनन् । त्यसैलेपनि धरैजसोले इनरुवा अस्पताललाई रेफर लिने अस्पतालका रुपमा मात्रै प्रयोगमा ल्याउदै आएका छन् । आपत परे जाने अन्यथा रेफर लिएर बिराटनगर वा धरानका अस्पतालमा पुग्ने पहिचान हो इनरुवा अस्पतालको । औषधी नै नपाउने भएपछि सेवाग्राही सहज र सुलभ सेवाको खोजीमा अन्यत्र भौतारिने गरेका छन् । जसको प्रत्यक्ष उदाहरण बनेका छन्, देवानगञ्जमा भेटिएका राम (नाम परिवर्तन)।

देवानगञ्जको स्वास्थ्य संस्थामा औषधी लिन आएको बताउने रामले इनरुवा अस्पतालमा जाँदा रित्तो हात फर्किनु पर्ने भएकाले दक्षिण लागेको बताए । क्लिनिकमा गई औषधी किन्ने सार्मथ्य नभएको बताउने राम आफु जस्तै अन्य समेत औषधी चाहिएमा दक्षिणी गाउँपालिका चाहार्ने गरेको बताउँछन् । रामसँगै भेटिएका उनका साथीले समेत अन्यत्रको दाँजोमा देवानगञ्ज गाउँपालिकामा औषधीको सहज उपलब्धता रहेको पाइएकाले आवश्कयता परेको खण्डमा काम चलाउने गरेको बताए । उनीहरुले इनरुवा अस्पताललाई रेफर अस्पताल भनेर सम्बोधन समेत गरेका थिए । पछिल्लो केहि वर्षयता इनरुवा अस्पताललाई धेरैले यही नामले चिन्ने गरेको उनीहरु बताउँछन् ।

झट्ट सुन्दा अपत्तयारिलो लाग्ने यो विषयले इनरुवा अस्पताल प्रतिको आम सर्वसाधारणको दृष्टिकोण उजागर गरेको छ । स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुले बजेट सिलिङसँगै आवश्यकता अनुसारको क्षेत्रमा रकम विनियोजन गर्दा सेवाको चुस्तता सँगै त्यसको प्रभावकारीतामा समेत सकारात्मक प्रभावहरु देखापर्न थालेको उदाहरण समेत हो यो । जसको ज्वलन्त उदाहरण इनरुवाका स्थानीय औषधी खोज्दै देवानगञ्ज पुग्नु हो । इनरुवा अस्पताल प्रति आम सर्वसाधारणको गुनासो र सधैजसो हुने गरेको औषधी अभावको विषयमा स्वयं कार्यालयसँग समेत ठोस जवाफ भने छैन् । स्वास्थ्य कार्यालयका मेसु डा.सन्तोष राईका अनुसार विगत देखिका आन्तरिक तथा राजनीतिक कलहनै इनरुवा अस्पतालको गुणस्तरीयताको प्रमुख बाधक हो ।

यसअघि खरीद गरिएका औषधीको बिल समेतको भुक्तानी गर्न नसकिएको बताउने मेसु राईले अस्पताल भित्र देखिएका समस्या समाधानको पहलमा जुटिसकेको बताउँछन् । राईको भनाईमा औषधी अभावका कारण सेवाग्राही आफु पायकको स्थान वा स्वास्थ्य संस्थामा जानु स्वभाविक हो । जहाँबाट सहज र सरल सेवा प्रवाहको अनुभुति गरिन्छ त्यहाँ पुगेर सर्वसाधारणले सेवा लिनुलाई डा. राई सचेतना र सजकताको स्तर वृद्धि भएको बताउँछन् । राईले स्वास्थ्य सूचकांकको पुछारमा रहेको इनरुवा अस्पतालको सुधारकालागि सरोकारवाला सँग मिलेर अघि बढ्ने सवालमा पहल भैरहेकाले स्थानीयका गुनासा र औषधी अभाव लगायतका विषय समाधान भएर जाने बताउँछन् । स्थानीय तहमा बजेट बढी हुने र सम्वन्धित शिर्षकमा छुट्याइने भएकाले समेत सेवाको दुरुस्तता रहने स्वास्थ्य कार्यालयको बुझाई छ ।

उता देवानगञ्जमा औषधी लिन पुगेका स्थानीयको वास्तविकता केलाउँदा गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधीको जोहो रहेको भने भेटियो । सदरमुकाममा रहेको अस्पतालमा औषधीका र्याक र दराज खाली भेटिदा सिमावर्ती गाउँपालिका देवानगञ्जका सवै स्वास्थ्य संस्थामा प्रयाप्त मात्रामा औषधी भण्डारनमा रहेको पाइयो । औषधी लिन अन्यत्रबाट समेत पुग्ने गरेको विषयलाई गाउँपालिकाका स्वास्थ्य संयोजक उमेश प्रसाद मेहता समेत स्विकार्छन् । गाउँपालिकाका विभिन्न वडाकासाथै स्थानीयवासी मात्र नभएर भारतीय नागरिक र गाउँपालिका बाहिरका पालिकाहरुबाट समेत औषधी चाहिए गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थामा पुग्ने गरेको मेहताले बताए । मेहताले स्वास्थ्य सेवाप्रति सबैको चासो र भरोषा समेत बढ्दै गएको बताए ।

देवानगञ्ज गाउँपालिकामा ५ वटा स्वास्थ्य चौकी र २ आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुन नदिन गाउँपालिकाबाटै निर्णय गरी पर्याप्त बन्दोवस्ती सहितको व्यवस्था मिलाइएकाले सर्वसाधारणले सहज र सुलभ तवरबाट सेवा पाइरहेको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेलेको भनाई छ । न्यौपाने अन्यत्रबाट समेत औषधी लिन गाउँपालिका आउने गरेको पाइएकाले स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पु¥याउने आफुहरुको उद्देश्यले सार्थकता पाएको बताउँछन् । न्यौपानेले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सोचेभन्दा बढी उपलब्धी हात पारेको समेत बताए । ४५ हजार बढी जनसंख्या रहेको गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाको सहजताका कारण स्वास्थ्य संस्थामा चेकजाँचकालागि पुग्ने सर्वसाधारणको संख्यामा समेत वृद्धि हुन थालेको उनले बताए । न्यौपानेले देवानगञ्ज स्वास्थ्य चौकी १५ शैयाको अस्पतालमा परिणत हुन लागेकाले समेत स्वास्थ्य सेवा र प्रभावकारिताको विषय थप मजबुत भएर जाने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia