इनरुवा नगरपालिकाको कार्यालयले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै नगरभित्र कडाई गर्ने भएको छ ।नगरपालिकाको कार्यालयले निर्णय अटेर गरे कानुन बमोजिम कार्वाही गर्ने समेत जनाएको छ ।नगरपालिकाको कार्यालयले आपतकालिन बैठकको निर्णय सार्वजनिक गर्दै सचेतना, सर्तकतासँगै नगरभित्र थप कडाई गर्न लागेको जनाएको छ ।

नगरपालिकाको कार्यालयले जारी गरेको पछिल्लो सूचना अनुसार नगर भित्र माछामासुको बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको छ ।बैठकले नगरभित्र लाग्दै आएका सबै हटिया बन्द गराउने निर्णय समेत गरेको छ । भिडभाडका कारण संक्रमणको जोखिम बढ्ने भएकाले पूर्व सावधानीका लागि नगर भित्र लाग्दै आएका हटिया बन्द गर्ने निर्णय गरिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।त्यसैगरी इनरुवा ४ को रामजानकी मन्दिर छेउमा दैनिक विहान लाग्ने थोक कृषि बजार समेत संचालनमा नगरपालिकाले रोक लगाउने निर्णय गरेको छ । गुद्री बजारको सम्वन्धमा उद्योग वाणिज्य संघ इनरुवा संगको परामर्श पश्चात निश्चिय समयावधि निर्धारण गरी खुल्ला गर्ने विषयमा छलफल अघि बढाइएको कार्यालयले जनाएको छ । गुद्री र बजारका सम्वन्धमा अवस्था हेरी थप निर्णय लिइने कार्यालयले जनाएको छ ।

नगरपालिकाको पछिल्लो निर्णयसँगै नगरभित्रका मदिरा पसलका साथै सिनेमा घर र जिमहलहरु स्वतः बन्द हुने भएका छन् । बजारमा किनमेलका लागि पुग्ने सर्वसाधारण उपभोक्तालाई लक्षित गरी अनिवार्य साबुन पानीले हात धुने व्यवस्था मिलाउनु पर्ने जनाइएको छ ।
क्वारेन्टाइन जाँच नगरी भित्रिने कुनैपनि खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानको प्रवेशमा रोक लगाउनुका साथै नगर बाहिरबाट आउने कुनैपनि सिटी सफारी तथा अटोलाई प्रवेश नदिने समेत नगरपालिकाले निर्णय गरेको छ । क्वारेन्टाइन स्थलको आवश्यकता महसुस भए नयाँ बसपार्कलाई प्रयोगमा ल्याउने समेत नगरपालिकाले निर्णय गरेको छ ।नगर प्रमुख राजन मेहताको नेतृत्वमा बसेको आपतकालिन बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न नगरमा सर्तकतासँगै थप कडाई थाल्ने निर्णय गरेको हो । नगरपालिकाले कोरोनाको बढ्दो त्रास र जोखिमसँगै सृजना हुन पुगेको विषम परिस्थितिमा सबै नगरवासीमाझ साथ र सहयोगको लागि आग्रह समेत गरेको छ ।












