कोरोना भाइरसको महामारीका कारण मुलुक लक डाउनमा रहेका बेला इनरुवाका युवाहरुले घर घरमा सित्तैमा तरकारी पुर्याउने अभियान चलाएका छन् ।लक डाउनको पालना गर्दा छाक टार्न समस्यामा परेका परिवारलाई लक्षित गरी इनरुवाका दिपेश ढकाल, बिवष पण्डित र प्रमेश पौडेलले सित्तैमा तरकारी अभियान संचालनमा ल्याएका हुन् ।

व्यक्तिगत रकम जम्मा गरी समस्यामा परेका परिवारलाई छाक टार्ने उद्येश्यले उनीहरुले तरकारी घरमै पुर्याउन थालेका हुन् । अभियान संचालनमा ल्याएका युवाहरुलाई जिल्ला प्रशासन कार्यालय र सुनसरी प्रहरीबाट समेत अनुमती प्रदान गरिएको छ ।

दिपेश ढकालका अनुसार प्रारम्भमा तीन जनाले रकम जम्मा गरी अभियान थालिएको हो । १८ गते सम्मलाई घर घरमा तरकारी पुर्याउने लक्षसाथ अभियानको सुरुवात गरिएको ढकालले बताए ।

युवाहरुले किसानसँग उनीहरुको उत्पादन सुलभ दरमा खरीद गरी समस्यामा परेका परिवारको घर सम्म पुगी वितरण गर्ने गरिएको बताएका छन् । गरीब,दुखी,असहाय र अशक्त परिवारलाई लक्षित गरी संचालनमा ल्याइएको अभियान आवश्यक्ताका आधारमा अघि बढाइने युवाहरुले बताएका छन् ।

लक्षित समुदायले मात्र नभएर समस्यामा परेका जो कोहीले समेत सित्तैमा तरकारीको सेवा पाउने बिवष पण्डितले बताए । तरकारीका पोको तयार पारी घर घरमा पुर्याई दिने गरेको पण्डितले बताए । लक्षित समुदायको बसोवास रहेको क्षेत्रमा आफैं पुगेर समेत सित्तैमा तरकारी उपलब्ध गराउँदै आएको सित्तैमा तरकारी अभियानमा जुटेका युवा प्रमेश पौडेलले बताए । सित्तैमा तरकारी प्राप्त गर्न ९८०२७२१०२०, ९८४२१२३५७६ र ९८६२००१५८१ नम्बरमा नाम टिपाउनु पर्ने छ । सित्तैमा अभियान संचालनमा ल्याएको युवाहरुले सक्षम व्यक्ति र परिवारकासाथै अत्यावश्यक बाहेकको अवस्थामा निःशुल्क सेवाको अपेक्षा नगर्न भनेका छन् । अभियान इनरुवा नगरपालिका भर उपलब्ध रहने बताइएको छ ।
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








