इनरुवा। उदयपुरमा कोरोना संक्रमित भेटिएपछि सुनसरीमा आजबाट थप कडाई थालिएको छ । छिमेकी जिल्लाका हैसियतले सुनसरीमा प्रशासनले सर्तकता बढाएको हो ।प्रशासनले उदयपुरसँग सीमा जोडिएका सडक तथा नाकाहरुमा समेत कडाइ गर्न थालेको छ । ति क्षेत्रबाट हुन सक्ने आवतजावत लाई अत्यावश्यक अवस्था बाहेकको हकमा पूर्ण रुपमा रोक लगाइएको छ ।कोशी ब्यारेज तथा उदयपुर जोड्ने चतरा खण्डको सडक सहितका अन्य नाकाहरुमा प्रहरीले विशेष कडाइ गरेको सुनसरी प्रहरीले जनाएको छ ।सुनसरीमा आज बिहानैबाट लक डाउनमा कडाइ देखिएको छ । प्रहरीले गय साँझनै माइकिङ गरेकोले समेत सुनसरीका शहर बजारमा आज विहानैबाट कडाइको प्रभाव देखिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आज विहानको समयमा जिल्लाभरबाट ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ सवारी कार्वाहीमा परेका छन् । उक्त संख्या अघिल्ला दिनहरुको तुलनामा निकै कम हो ।

सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलका अनुसार अर्को सूचना जारी नभएसम्म जिल्लाभरको लक डाउनमा पूर्ण रुपले कडाइ गरिएको छ ।सम्भावित भिडभाडलाई मध्यनजर गर्दै औषधी पसल बाहेक सबै खाले सेवा तत्कालका लागि बन्द गरिएको उनले बताए । अतिनै अत्यावश्यक अवस्था आएको खण्डमा नजिकको प्रहरीसँग समन्वय गर्न उनले सर्वसाधारणलाई आग्रह समेत गरेका छन् । प्रहरीले विषम परिस्थितिको अवस्थालाई जिल्लावासीले सामान्य रुपमा लिइदिन समेत आग्रह गरेको छ ।यसैगरी जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत अर्को सूचना जारी नभएसम्मको लागि जिल्लाभर लक डाउन कडा गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले उदयपुरमा कोरोना संक्रमित भेटिएकाले सुनसरीमा समेत सावधानी अपनाइएको बताए । उनले कतिपय पालिकाहरुमा स्थानीय सरकारले लक डाउनको पालना गराउने सवालमा आफु अनुकुलका निर्णय गर्दै थप कडाइ गरिरहेको समेत बताए ।सुनसरी प्रशासनका अनुसार जिल्लामा अहिले सम्म कोहीपनि कोरोनाका बिरामी भेटिएका छैनन् । यद्यपी जोखिमलाई मध्यनजर गर्दै सावधानी भने अपनाइएको छ ।सुनसरीमा अहिले सम्म ४ सय ७२ जनाको र्यापिड टेस्ट मार्फत स्वास्थ्य जाँच गरिएको छ । सो क्रममा दक्षिणी भेगका एक युवाको रिपोर्ट मात्रै आउन बाँकी छ । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । काठमाण्डौबाट हिंडेर घर फर्किएका युवाको भने पहिलो पटक गरिएको र्यापिड टेस्टका क्रममा पोजेटिभ नतिजा देखिएपनि दोस्रो पटक गरिएको परिक्षमा नेगेटिभ पाइएको छ । ति युवालाई थप जाँचकालागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । धरानको रिपोर्ट नआएसम्म आधिकारिता नहुने स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ ।यसैबिच सुनसरी प्रशासनले राहत वितरणमा हुने भिडभाडलाई मध्यनजर गर्दै डोर टु डोर मात्रै राहत वितरण गर्न सबै स्थानीय तहहरुलाई आग्रह समेत गरेको छ । प्रशासनले मस्जिदमा बस्नेहरु सबैलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । ८१ वटा मस्जिद रहेको सुनसरीमा कोहीपनि आश्रय लिई बसेको भन्ने जानकारीमा नरहेको प्रशासनले जनाएको छ । लुकिछिपी बसेको भेटिए कार्वाही गरिने जनाएको छ ।प्रशासनले जिल्लाका कुनैपनि मस्जिदमा अश्रय लिई बस्न नपाइने जनाएको छ । उदयपुरमा भेटिएका कोरोना संक्रमितहरु सुनसरीमा समेत बसेको भन्ने सुचनाका आधारमा ट्राभल हिस्ट्री पहिल्याउने काम भैरहेको प्रशासनले जनाएको छ । मस्जिद र सम्पर्कमा आएका व्यक्तिहरुको विषयमा छानविन जारी रहेको जानकारी गराइएको छ ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2
https://www.facebook.com/inaruwaonline/videos/614731475776870/?t=4
https://www.facebook.com/inaruwaonline/videos/2556782324537525/?t=0








