लक डाउन पीडितकालागि बाँडिएको चामल प्लाष्टिकको रहेको हल्ला फैलिएपछि राहत बुझेका मध्ये केहीले आफुले पाएको खाद्यान्न सामाग्री फिर्ता गरेका छन् । सुनसरीको हरिनगर गाउँपालिकाको वडा नम्बर २ का स्थानीयले राहतमा पाएको चामल पकाएर खाँदा अपच भएको भन्दै विरोध समेत जनाएका थिए ।राहतका नाममा गुणस्तरहीन चामल वितरण गरेको भन्दै अनियमितताको आरोप लागेपछि गाउँपालिकाले भने उक्त विषयको खण्डन गरेको छ ।

गाउँपालिकाको कार्यालयले प्रेश विज्ञप्ती निकाल्दै फैलाइएको अफवाहमा कुनै सत्यता नरहेको जनाएको छ । सृजित घटनाक्रम प्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका गाउँपालिका अध्यक्ष गफार अन्सारीले गलत प्रचारबाजी गरी आरोप लगाउने उपर छानविन गरी कानुनी दायरामा उभ्याइने बताए ।उनले पत्रकार सम्मेलनको आयोजना गरी आफु र सिङगो गाउँपालिका माथि लगाइएको आरोपको खण्डन समेत गरेका छन् । पत्रकार सम्मेलनमा प्लाष्टिकको चामल भनेर गरिएको दाबी पछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरमा गरिएको जाँच र नमुना परीक्षणको रिपोर्ट समेत उपलब्ध गराइएको छ ।

प्रतिवेदनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिराटनगरबाट खरीद गरिएको चामलको नमुना परीक्षण गर्दा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप रहेको उल्लेख छ । कम्पनी लिमिटेडले जापान सरकारले अनुदानको रुपमा नेपाल सरकारलाई उपलब्ध गराएको जापनीज चामल गाउँपालिकाको कार्यालयलाई राहत वितरणका लागि विक्रि वितरण गरिएको जनाएको छ । उसले आफुले विक्रि गरेको चामल नेपाल सरकारको मापदण्ड अनुसारकै रहेको दावी गरेको छ ।


कस्तो छ त चामल :
हरिनगर गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरीद गरेको चामल नेपाल सरकारलाई जापान सरकारले अनुदानका रुपमा उपलब्ध गराएको चामल हो ।झट्ट हेर्दा दैनिक प्रयोग र उपभोगमा ल्याइदै आइएका चामल भन्दा अलि भिन्न देखिने उक्त चामल मोटो छ । हाम्रो गाउँसमाजमा सो सामान खासै प्रयोगमा ल्याइदैन् । खासगरी नेपालमा सो चामल पहाडी भेग तथा श्रमगर्ने ज्यालादारी मजदुरको हकमा प्रयोगमा ल्याइने गरिएको छ । नेपाल सरकारले समेत आपतविपतको अवस्थामा सोही मापदण्ड अनुसारको चामल पठाउने गरेको छ ।तराई मधेशका जिल्लाहरुमा दैनिकजसो उपभोगमा मिठो मसिनो चामल प्रयोगमा ल्याइने गरिन्छ । मिलमा कुटाइएको चामलको बढी प्रयोग गर्ने गरिन्छ । जसको स्वाद अन्य चामलको तुलनामा मिठो मानिन्छ ।प्रायजसो हामीकहाँ माँड पसाएको भात खाने गरिएको छ । जसले गर्दा समेत जापनीज चामल तराई भेगको हरिनगरका वासिन्दाको दैनिक उपभोगको हकमा नपचेको हुन सक्छ ।स्वादमा फरक परेकाले समेत चामलको विषयमा अर्नगल प्रचारबाजी भएको हुन सक्ने गाउँपालिकाको ठहर छ । तर गाउँपालिकाले खरीद गरेको सरकारी चामल खासगरी तराईभेगमा त्यतिसारो नरुचाइने भएकाले समेत सो चामलको विषयमा हरिनगरमा सर्वसाधारणको विरोध सुनिएको आंकलन गरिएको छ ।

राहतमा गुनासो :
चामलको विषयमा गुनासो गरेकाहरुले गाउँपालिकाले जानीजानी आफुहरुलाई कम गुणस्तरको चामल दिएको आरोप लगाईरहेका छन् ।राहतका नाममा जनता बिरामी पार्ने काम गरेको बताउने इलीयासले गाउँपालिकाले बाँडेको चामल गुणस्तरहीन भएको बताए । उनले उक्त चामललाई प्लाष्टिककै भएको दावी गरे । उनीसँगै अन्य केहि व्यक्तिले समेत होहल्ला गर्दै चामलमा राजनीति भएको सुनाए । आफुहरुले त्यस्तो चामल नखाने भन्दै फिर्ता गरेको समेत उनीहरुले बताए ।
अध्यक्ष भन्छन् – आरोप निराधार :
गाउँपालिका अध्यक्ष गफार अन्सारीले आफुहरुमाथि लगाइएको अरोप निराधार रहेको बताएका छन् । अन्सारीले राहत विरतणको विषयलाई केहि व्यक्तिले उचालेर गलत हल्ला फैलाएको बताए । परीक्षण रिपोर्टले समेत स्थानीयको आरोपलाई तथ्यहीन बनाएकाले झुटको खेती छलैङगै भएको उनले बताए । अध्यक्षले भने – हामीले सरकारी चामल किनेका हौं । यदी त्यो चामलनै गुणस्तरहीन छ भने थप छानविन होस । वास्तवमै गुणस्तरहीन ठहरिए चामल बेच्ने पक्ष दोषी ठहरिने छ ।

गाउँपालिका भन्छ: चित्त नबुझे फिर्ता गरेर अर्को लैजानु :
गाउँपालिकाले जापनीज चामल राहतमा पाएकाहरुले चित्त नबुझे र खान मन नलागे उक्त चामल फिर्ता गर्न भनेको छ । गाउँपालिकाले फिर्ता गर्नेहरुलाई अर्को चामल उपलब्ध गराइने जनाएको छ । यद्यपी सो विषयमा वडाध्यक्षहरुले भने सहमति जनाई सकेका छैनन् ।गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचित जनप्रतिनिधिका साथै प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनैतिक दलका नेता, सुरक्षाकर्मी र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।


https://www.facebook.com/inaruwaonline/videos/524711771784620/?t=2








