इनरुवा नगरपालिका भित्रका सबै घर परिवारको विवरण संकलन गरिने भएको छ । नगरपालिकाको कार्यालयले स्वयंसेविकाहरुलाई खटाएर हरेक घरधुरीको डाटा संकलन गर्न लागेको हो ।
जसकालागि स्वयंसेविकाहरुलाई प्रशिक्षण समेत दिईसकिएको छ । इनरुवा नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण फोकल पर्सन सन्तोष देवका अनुसार ९८ जना स्वयंसेविका डाटा संकलनको कार्यमा खटिने छन् ।
कोरोना भाइरसको जोखिमका बिच नगरवासीको स्वास्थ्य अवस्था पहिचान गर्ने उद्येश्यसाथ डाटा संकलनको अभियान संचालनमा जुटेको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ । नगर प्रमुख राजन मेहताले घरलौरी डाटा संकलन गरिदा वास्तविक तथ्याङक बाहिर आउने बताए । कोरोनाका सम्भावित लक्षणहरुको समेत पहिचान हुने भएकाले सम्भावित जोखिम भए वेलैमा सावधानीका उपाय अवलम्बन गर्न सहज हुने उनले बताए ।


प्रत्येक वडाका घर घरमा पुग्ने स्वयंसेविकाले तोकिएको ढाँचा बमोजिमको फर्म भर्नेछन् । उक्त फर्ममा परिवार संख्या, उमेर समूह, जेष्ठ नागरिकको अवस्था, रुखा, खोकी, ज्वरोसँगै अन्य कुनै रोग भए नभएको जानकारी सहितको विवरण भरिने छ । त्यसैगरी बसोबासको अवस्था, विदेशबाट आएको भए सोको विवरण, अपनाइएका विधि लगायत विदेशमा रहेका आफन्तको जानकारीका साथै नेपाल भित्र कतै यात्रा गरेको भए ट्राभल हिस्ट्री जस्ता विवरण भरिने छ । संकलित डाटाका आधारमा नगर स्तरीय योजना निर्माण तथा सम्वन्धित क्षेत्रको हकमा कार्यक्रमहरु तय गर्न समेत सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।








