सुनसरीका युवाहरुले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य जाँचको वातावरण मिलाईदिन प्रशासन समक्ष माग गरेका छन् ।उनीहरुले बजारमा दिनप्रतिदिन भिड बढ्न थालेसँगै सामाजिक दुरी समेतको प्रवाह गर्न छाडिएकाले भाइरस संक्रमण यकिन गर्नकालागि सुनसरी प्रशासन समक्ष स्वास्थ्य परीक्षणको माग गरेका हुन् ।

सदरमुकाम इनरुवा सहितका क्षेत्रमा क्रियाशिल विभिन्न युवा समूहका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई भेटी सबैकालागि कोरोना परीक्षणको व्यवस्था मिलाउन माग गरेका हुन् ।दिपेश ढकाल, राकेश निरौला, सुवास राइ, शिवकुमार यादव सबैको कोरोना जाँच गराई पाउँ भन्ने व्यहोरा सहितको ज्ञापन पत्र सहित सुनसरी प्रशासन पुगेका थिए ।युवाहरुको ज्ञापन पत्र बुझ्दै प्रजिअ पौडेलले किट अभावका कारण सबैको कोरोना परीक्षण असम्भव रहेको धारणा राखेका थिए । किट अभाव राज्यकै समस्याका रुपमा रहेको बताएका पौडेलले सुनसरीमा समेत किट अभाव रहेको बताए । वीपीमा जम्मा ३ सय किट मात्रै रहेको समेत पौडेलले जानकारी दिए ।स्वाब संकलन तथा परीक्षण अहिलेको अवस्थामा झनै कठिन रहेको बताएका प्रजिअ पौडेलले स्वयं स्थानीयमा चेतनाको स्तरमा वृद्धि गर्न आवश्यक रहेको प्रतिकृया दिएका थिए ।










