सुनसरीको चार गाउँपालिकामा होल्डिङ एरिया बनाएर संचालनमा ल्याउन लागिएको छ । भारतसँग सीमा जोडिएका सिमावर्ती क्षेत्रको नेपाली भूमिमा होल्डिङ एरिया निर्माणको काम अघि बढाउने निर्णय भएको सुनसरी प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार बढी आउजाउ देखिएका नाकालाई लक्षित गरी होल्डिङ एरियाको काम अघि बढाइएको छ । जसकालागि स्थानीय पालिकाहरुसँग समन्वय गरिएको छ ।प्रशासनका अनुसार सुनसरीको कोशी, हरिनगर, देवानगञ्ज र गढी गाउँपालिका क्षेत्रमा होल्डिङ एरिया निर्माणको काम अघि बढाइएको हो । बर्जु गाउँपालिका क्षेत्रमा समेत आवश्यकता हेरी काम अघि बढाइने प्रशासनले जनाएको छ ।प्रशासनका अनुसार सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ एरियाको रुपमा प्रयोगमा ल्याइने छ ।प्रजिअ पौडेलका अनुसार एक गाउँपालिकाका दुई स्थानमा त्यस्ता होल्डिङ एरिया तोकिने छ । एक पालिकामा कम्तीमा ३ सय जनालाई तत्काल होल्ड गर्न मिल्ने गरी पूर्वाधार तयार गर्न लागिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।प्रशासनले सीमाबाट लुकीछिपी भैरहेको आउजाउलाई गम्भिरताका साथ लिइएको जनाएको छ । सुनसरी प्रशासनले नाकामा थप सुरक्षा सर्तकता बढाइएको समेत जनाएको छ ।










