सुनसरीमा अहिले सम्म ३ सय ९३ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ ।त्यसैगरी ११ सय १६ जनाको आरडिटी परीक्षण गरिएको छ । सबै परीक्षणको नतिजा नेगेटिभ रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।अहिले सम्म गरिएका सबै परीक्षण सम्भावित जोखिम र संक्रमणको आशंकाको आधारमा गरिएको कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार परीक्षण मापदण्ड अनुरुप पहिलो प्राथमिकताका आधारमा यकिन गरिएकाहरुको पीसीआर र आरडिटी परीक्षण गरिएको हो ।

विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको क्रमश स्वाब परीक्षणको कार्य भैरहेको समेत प्रसाईले बताए । उनका अनुसार सुनसरीमा अहिले सम्म क्वारेन्टाइनमा रहेकाको संख्या १ सय १३ रहेको छ ।रामधुनीको सन्दर्भमा प्रसाईले १९ जनाको स्वाब परीक्षण गरिएकोमा १८ जनाको नेगेटिभ नतिजा आएको बताए । एक जनाको भने पूनः स्वाब संकलन गरी परीक्षणको क्रममा रहेको उनले जानकारी दिए ।संक्रमणको स्रोत भने खुलि नसकेकाले सूक्ष्म रुपमा अध्ययन जारी रहेको उनले बताए । कन्ट्याक ट्रेसिङको काम समेत जारी रहेको प्रसाईले बताए । त्यसका अलावा संक्रमित महिला संगको कन्ट्याक ट्रेसिङका आधारमा थप २ जनाको समेत स्वाब संकलन गरिएको र रिपोर्ट आउने क्रममा रहेको उनले जानकारी दिए ।यसैगरी कोरोना संक्रमित पाइएकी महिला पास बनाउन जिल्ला प्रशासन कार्यालयमा समेत पुगेकी हुँदा कार्यालयका केही कर्मचारीको समेत स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य प्रमुख प्रसाईले छिमेकी जिल्लामा कोरोनाका संक्रमित देखा परिसकेकाले समेत सुनसरीमा जोखिम बढ्दै गएको बताए । सिमावर्ती क्षेत्र भएकाले समेत जोखिमलाई कम आक्नु नहुने उनले तर्क दिए ।प्रसाईले परीक्षणको दर बढाउनुको विकल्प नरहेको समेत बताए । स्रोत साधनको अभावका बिच परीक्षण जारी रहेको बताएका स्वास्थ्य प्रमुखले किट लगायतका आवश्यक सामग्री माग गरिएकाले आए लगत्तै जिल्लामा परीक्षणको रफ्तार बढ्ने जानकारी गराए । जसका लागि १७ जना ल्याबका कर्मचारीलाई प्रशिक्षण दिई तयारी अवस्थामा राखिएको छ । पालिका स्तरमा समेत पीसीआर परीक्षण गर्ने तयारी थालिएको उनले बताए ।अहिले भने सुनसरीमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अलावा इटहरी र इनरुवा अस्पतालबाट स्वाब संकलन गर्ने गरिएको छ ।स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार संचारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोरोना संक्रमणका बिच प्रत्यक्ष रुपमा सक्रिय रहेकाहरुको समेत परीक्षण गर्ने गरी तयारी थालिएको छ ।










