सुनसरीको गढी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरुष कोरोना संक्रमित पाइएका छन् । भारतबाट फर्किएका ति पुरुष गाउँपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा बसेका थिए । गाउँपालिकाका अनुसार भारतबाट आएका उनलाई सिधै क्वारेन्टाइन स्थलमा राखिएको थियो । भारतको जोगबनी हुँदै बैशाख ३० गते फर्किएका २८ वर्षिय पुरुष त्यसयता क्वारेन्टाइमै रहेको बताइएको छ । परीक्षणको क्रममा ति पुरुषमा कोरोना पोजेटिभ पाइएको हो । संक्रमित पुरूष सँगै भारतबाट ५ जना आएका थिए । सबैलाई गढदेव आधारभुत विद्यालयमा संचालनमा रहेकाे क्वारेन्टाइनमा राखिएको थियाे । प्रहरीका अनुसार साे क्वारेन्टाइनमा १० जना बस्दै आएका छन् । संक्रमित पुरुष सुरुवाती अवस्थाबाटै क्वारेन्टाइनमा रहेकाले अन्यले आत्तिनु पर्ने अवस्था भने नरहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । नेपालमा सोमबार एकै दिन सर्वाधिक ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या थपिने क्रम सोमबार तीब्र बनेको छ । सोमबार राति मात्र पुनः १८ संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनपुरका १२, धनुषाका २ , खोटाङ हलेसीका एक , दैलेख आठबीसका एक सुनसरीका १ र झापाका १ जना छन् । संक्रमित सबै पुरुष भएको पनि मन्त्रालयले जनाएको छ । संक्रमितहरूकाे स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










