कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा इनरुवा नगरपालिका उपर आर्थिक अनियमितताको आरोप लागेको छ । क्वारेन्टिन व्यवस्थापन तथा राहत वितरण जस्ता शिर्षकका नाममा २ करोड २० लाख रकम खर्चेको विषय बाहिरिए सँगै नगरवासी माझ नगरपालिका उपर आर्थिक अनियमितताको आशंका उब्जाएको छ ।नगरपालिकाको कार्यालयले राहत वितरणकालागि खाद्यान्न सामाग्री खरिद बापत ८० लाख रकम भुक्तानी गरेको स्रोत उदृत गरी अनियमितताको आंशका गरिएको छ । यद्यपी स्रोतको सत्यता उपर समेत नगरपालिका भित्रैबाट आवाज उठेको छ । स्रोतका अनुसार विभिन्न संघसंस्था र दाताहरुले ठुलो परिमाणमा खाद्यान्न सामाग्री सहयोग वापत उपलब्ध गराएको अवस्थामा सामाग्री खरिदमा मोटो रकम खर्च भएको देखिनु शंकास्पद छ । उनीहरु भन्छन्, राहत पनि पहिलो चरणको मात्र बाँडिएको छ ।

त्यसैगरी नगरपालिकाको कार्यालयलाई लागेको अर्को आरोप हो – क्वारेन्टिन व्यवस्थापन तथा आवश्यक सामाग्री खरिद वापतको खर्च ८० लाख । जुन रकम कमिसनमा कुरा नमिल्दा बिक्रेताले भुक्तानी पाउन सकेको छ्रैन् । उसले थप सामानको उपलब्धता लाई समेत रोकेको छ ।फुड बैंकमा चामल सहित पर्याप्त खाद्यान्न स्टोर रहेको अवस्थाका बिच वडा भरीका ८ हजार १ सय परिवारलाई उनीहरुको परिवार संख्याका आधारमा १० र १५ किलोका दरका खाद्यान्न वितरण गरिएको थियो । राहत वितरण समेत पारदर्शी हुन नसकेको आरोप नगरपालिका सामू लगाइएको छ । खाद्यान्न सामाग्री खरिद वापतको भुक्तानीमा कमिसन जोडेर बढी मूल्य पेश भएकाले सोको भुक्तानी भएता पनि मास्क, सेनेटाइजर जस्ता सरसफाई र सुरक्षासँग जोडिएका सामाग्रीको कमिसनमा कुरा नमिल्दा लेखाले भुक्तानी नदिएको अरोप समेत यतिबेला इनरुवा नगरपालिका माथि लागेको छ । पछिल्लो अवस्थालाई कतिपयले नगरपालिकाकै कर्मचारीमा मनमुटावको अवस्था देखिएपछि आर्थिक अनियमितताको विषय बाहिरिएको अनुमान गरेका छन् । फुड बैंक सहित जम्मा हुन आएको रकम सहित कोरानसँग सम्वन्धित खर्च विवरण सार्वजनिक भए सबै विषय छर्लङग हुने उनीहरुको बुझाई छ । अधिकांश नगरवासीले कोरोनाका नाममा वडामा गएको भनिएको ६ लाख बराबरको रकम सहितको सम्पूर्ण खर्च र फुड वैंक सहित राहत कोषमा जम्मा हुन आएको रकम सहितको विवरण सार्वजनिकको माग समेत गरेका छन् ।

यता नगर प्रमुख राजन मेहताले नगरपालिका उपर लगाइएको आरोप आधारहीन भएको बताएका छन् । मेहताले कोही कसैलाई भुक्तानी दिएको भन्ने विषयलाई गलत र भ्रामक प्रचारबाजी भनेका छन् । उनले कोरोनाका नाममा २ करोड बढी भुक्तानी दिइएको भन्नुलाई बतुकको राजनैतिक पराकाष्टा भएको बताए । उनले लगाइएका कुनैपनि आरोपमा सत्यता नरहेको भन्दै सबै विषयवस्तु नगरवासी सामू सार्वजनिक गर्ने तयारीमा जुटेको बताए । उनले सबै हिसाब पारदर्शी रहेकाले झुटो प्रचारवाजीमा जुटेको समूहको पहिचान गरिने समेत बताए । जसमा कर्मचारी समेतको संलग्ना देखिए अफवाह फैलाउन सहयोग गरेको आरोपमा कार्वाही समेत गरिने उनले बताए । मेहताले आर्थिक वर्षको अन्तिम समय रहेकाले समेत धेरैको आशंका नगरपालिकाले रकम मिलानी गरी बजेट सक्छ भन्ने लागेको हुन सक्ने भन्दै त्यस्तो हुन नदिने बताए । नियम बाहिर गई नगरपालिकाले कुनै पनि भुक्तानी नदिएको र नदिने समेत मेहताले स्पष्ट पारे । आफुलाई जानकारी नदिई बिल भुक्तानी भएको भए त्यसउपर समेत छानविन गर्ने उनले बताए । उनले भने, यदी मेयर प्रति आरोप लगाइएको हो भने सबैले बुझ्न जरुरी छ ः सिङगो कार्यपालिका वाइपास गरेर कसरी भुक्तानी र खर्च अनुमोदन हुन्छ ?











