रुपन्देहीका दुई कोरोना अस्पतालबाट दुई दिनमा २९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालबाट ४ जना र भैरहवा स्थित भिम अस्पतालबाट २५ जना संक्रमित निको भएर डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए।

डिस्चार्ज हुनेमा एक जना ४ बर्षीय बालिका समेत रहेको उनले जनाए। भीम अस्पतालका अनुसार सोमबार डिस्चार्ज हुनेमा एक भारतिय नागरिकसहित रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४, सिद्धार्थनगर नगरपालिकाका १, कोटहीमाई गाउँपालिकाका १, कपिलवस्तुुका ५ र नवलपरासीका ३ जना रहेका छन्। उनीहरुलाई गत वैशाख ३० गतेदेखि कोरोना संक्रमणको पुष्टि भएपछि उपचारका लागि अस्पतालमा ल्याइएको थियो। भारतीय नागरिक बाहेक अन्य सबै जना भारतको मुम्बईमा रोजगारी गरी घर फर्केका हुन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नवीन दर्नालले उपचारमा आएकामध्ये कसैलाई पनि गम्भीर लक्षण नदेखिएको बताए। ‘सामान्य श्वासप्रश्वासमा र उच्च रक्तचाप देखिए पनि अन्य गम्भीर समस्या देखिएको थिएन। डिस्चार्ज हुन पाउँदा सबैजना खुसी छन्’, उनले भने। यससँगै अस्पताल ल्याइएका पहिलो समूहले कोरोनालाई हराउँदै घर फर्केको छ। मेसु दर्नालका अनुसार संक्रमितलाई डिस्चार्ज गरिएपछि अस्पताल खाली भएको छ।











