सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ८ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका ७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट फर्किए यता क्वारेन्टाइनमा बसेका ५१ जना मध्ये ४० जनाको स्वाब परिक्षण गरिएकोमा ७ जना पोजेटिभ पाइएका हुन् ।

जामिया जियाउल उलुम मदरसामा बस्दै आएका ७ जना कोरोना संक्रमित मध्ये ३ जना विद्यार्थी रहेका छन् । भारतमा अध्ययनको क्रममा रहेकाहरु उनीहरु १० दिन अघि घर फर्किएका हुन् । अन्य ४ जना भने गुजरातमा कामको सिलसिलामा गएका व्यक्तिहरु हुन् ।संक्रमित मध्ये ६ जना सुरुवाती अवस्थाबाटै क्वारेन्टाइनमा रहेको भएपनि एकजना भने भारतबाट फर्किएर घरमा केहि दिन बिताएको खुल्न आएको छ । कोरोना संक्रमित पाइएका व्यक्ति घरपरिवारमा केहि दिन बसेको पाइएको हुँदा वडा नम्बर ८ लाई सिल गर्नु पर्ने स्थानीयहरुले माग गरेका छन् ।












