सुनसरी। सशस्त्र प्रहरीलाई घुस दिन खोज्ने दुईजना व्यक्ति सुनसरीको भोक्राहा नरसिंहबाट पक्राउ परेका छन । बरामद गाँजा छुटाउन साढे ५ लाख रकम बोकेर आएका धनकुटा शहिदभूमि गाउँपालिका २ घर भएका ३६ वर्षिय हिक्मत राई र सोही स्थानका ३५ वर्षका आशिष राई गयराती पक्राउ परेका हुन । रातको पौने तीन बजे रकम लिएर आइपुगेका उनीहरुलाई पल्सर मोटरसाइकल सहित सशस्त्र प्रहरीको टोलीले नियन्त्रमा लिएको हो ।

नगद र मोटरसाइकल सहित पक्राउ परेकाको साथबाट आईफोन ११ प्रो र अन्य २ सेट मोबाइल फोन समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीले जनाएको छ ।सशस्त्र प्रहरी उपरीक्षक बिक्रम होमागाईका अनुसार हिक्मत र आशिष पक्राउ पर्नु पूर्व तयारी अवस्थाको १ सय ४८ किलो गाँजा सहित प्रदेश न. १–०२–००२–ख ८६१४ नम्बरको ट्रक र चालक हेमप्रसाद राईलाई नियन्त्रणमा लिइएको थियो । होमागाईका अनुसार गाँजा र ट्रक बरामद पश्चात नियन्त्रणमा रहेका चालक मार्फत कारोबारी समात्न रकमको प्रलोभन देखाइएको थियो । सोही डिजाइन अनुसार रकम बुझाएर सामान छुटाउन रातारात आइपुगेका हिक्मत र आशिषलाई पक्राउ गरिएको उनले बताए । सशस्त्र प्रहरी उपरीक्षक होमागाईले भारत तर्फ लैजानकोलागि ल्याइएको गाँजा झाडीमा लुकाउन ट्रकबाट अनलोड गर्दै गरिएको अवस्थामा बरामद गरिएको जानकारी दिए । उनले गाँजाको परिमाण र रकम हेर्दा पक्राउ परेका व्यक्तिहरु ठूलो कारोबारी हुन सक्ने बताए । उनले सो सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाउने बताए ।








