- अमर काफ्ले

इनरुवा। मेसुको कार्यशैली प्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका इनरुवा अस्पतालका डाक्टरले सेवा ठप्प पारेका छन ।मेसु डा.देबराज घिमिरेको व्यवहार चित्त बुझ्दो नभएको भन्दै उनीहरुले अस्पतालको सेवा ठप्प पारेका हुन । रुष्ट बनेका डाक्टरहरुले मेसु घिमिरे माथि आफुहरुलाई हेप्ने र दुर्व्यवहार गर्ने गरेको जस्ता आरोप लगाएका छन ।

डाक्टरहरुले ओपिडी सहितको कामकाज ठप्प पारेपछि जिसस प्रमुख गोपाल राजभण्डारी, नगर प्रमुख केदार भण्डारी, प्रजिअ इन्द्रदेव यादव, उपप्रमुख बिनिता कुमारी मेहता सहित सुरक्षा निकायका प्रमुखको टोली आज दिउँसो छलफलकालागि इनरुवा अस्पताल पुगेको थियो ।सो क्रममा डाक्टरहरुले सहकर्मी अमित मेहता उपर घिमिरेले देखाएको व्यवहार अशोभनीय भएको भन्दै मेसुको कार्यशैलीको आलोचना गरेका हुन । उनीहरुले मेसु घिमिरेको मातहतमा रहेर काम गर्ने वातावरण नभएको बताए ।सरोकारवाला समक्ष आन्दोलित डाक्टरहरुले सुधार संघर्ष समितिको भूमिका माथि समेत प्रश्न तेर्स्याएका छन । धेरैजसो सवालमा अस्पताल भित्र रडाको मच्चिनुमा संघर्ष समितिको भूमिका मूल कारकका रुपमा रहेको उनीहरुको बताए । डाक्टरहरुले मेसुको झुकाव संघर्ष समिति तर्फ रहेको आरोप समेत लगाए ।आन्दोलित मेडिकल अफिसरहरुले सेवा सुविधा नपाएको, खानेपानीको व्यवस्था नभएको, कोठा साँघुरो भएको, बस्ने टेबुलकुर्सी अभाव भएको र एसी जडान हुनुपर्ने जस्ता आफुहरुका माग वेवास्ता गरिएको गुनासो पोखे । उनीहरुले मेसुलाई आफुहरुले अभिभावकको भूमिकामा नपाएको बताए । मेसुसँग रहेर काम गर्न सक्ने वातावरण नभएको बताएका उनीहरुले माग पुरा नभएसम्म कामका नफर्किने अडान राखेका छन ।

यता आन्दोलित डाक्टरहरुले उठाएका विषयमा जवाफ दिएका मेसु डाक्टर देबराज घिमिरेले एक व्यक्तिको गलत कार्यमा सबै डाक्टरले साथ दिन नहुने बताए । उनले डाक्टर अमितको व्यवहारमाथि नागरिक स्तरबाट आवाज उठेपछि आफुले कमीकमजोरी सुधार्न सुझाव दिंदा उल्टै आफुमाथि जाइलागेको बताए ।मेसु घिमिरेले डाक्टर अमितले ड्यूटी निर्वाहमा आफुखुशी गर्ने गरेको, स्थानीयबासी भएको भनी दम्भ देखाउने गरेको, इनरुवा र नोबेल दुवै अस्पतालमा हाजिर गरी काम गर्ने गरेको र चेकजाँच बेगरै बिरामी रेफर गर्ने गरेको जस्ता गुनासो आफ्नो जानकारीमा आएपछि सचेत गराउँदाको परिणाम स्वरुप पछिल्लो घटनाक्रम सृजित हुन पुगेको बताए ।उनले आफुले पोशाकको बारेमा सोधीखोजी गर्नु, डाक्टरमाथि उठेका बिरामीका गुनासा सम्बोधन गर्न खोज्नु र विषयवस्तु केन्द्रित रही प्रमुखका हकमा सचेत गराउन खोज्नुलाई गलत अर्थमा लिइएको बताए ।कमीकमजोरी भए सुधार गरी अघि बढ्न आफु तयार रहेको बताएका डा.घिमिरेले अस्पतालमा कार्यरत डाक्टर सहित कर्मचारी सबैले आ–आफ्नो जिम्मेबारी र भूमिकाको बारेमा भने मनन गर्नु पर्ने बताए । उनले लथालिङ्ग अवस्थामा रहेको इनरुवा अस्पतालमा परिवर्तनको अभाष हुँदै गर्दा आफुमाथि सुनियोजित तवरले अपजस लगाइनु दुखद भएको बताए ।

छलफलका क्रममा उठेका विषयवस्तु उपर नगर प्रमुख केदार भण्डारी समेतले धारणा राखेका थिए । भण्डारीले दुवै पक्षले एक–अर्कालाई स्विकार गरी अघि बढ्ने वातावरणको आवश्यक्ता महसुस गरिएको बताए ।नगर प्रमुुख भण्डारीले मेसु घिमिरेलाई अभिभावको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले आन्दोलित डाक्टरहरुलाई समेत कमीकमजोरी भए सुधार गरी अघि बढ्न सुझाव दिए । पोषाकको सम्बन्धमा नगर प्रमुख भण्डारीले अनिवार्य लगाइनु पर्ने बताए ।आफु दुई दिन नगर बाहिर जानु पर्ने भएकाले फर्केर आएपछि नगर प्रमुखको हैसियतले गर्न सक्ने सबैखाले सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका भण्डारीले डाक्टरहरुलाई स्वास्थ्य क्षेत्र संवेदनशील विषय भएकाले आन्दोलन छाडी स्वास्थ्योपचार सेवा सुचारु गर्न आग्रह गरे ।
यता प्रजिअ इन्द्रदेव यादवले समेत आन्दोलित डाक्टरहरुलाई सेवा रोक्न नपाइने भन्दै काम सुचारु गर्न आग्रह गरेका छन । उनले स्वास्थ्य क्षेत्रमा बन्द हडताल गर्न नपाइने भन्दै काम सुचारु गर्न आग्रह गरे । यादवले डाक्टरहरुले उठाएका सेवा सुविधा लगायत असन्तुष्टिका विषय छलफलका माध्यमबाट समाधान खोजिने बताए ।

यसैबिच प्रजिअ यादवले अस्पताल भित्र हुल हुज्जत गर्न नपाइने भन्दै गलत मनसाय राख्ने व्यक्ति पहिचान गरी नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका छन । उनले डाक्टर सहित स्वास्थ्यकर्मी लगायतको सुरक्षामा विशेष ध्यान दिन समेत प्रहरीलाई निर्देशन दिए ।छलफलका क्रममा जिसस प्रमुख समेत रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीले अस्पताल भित्र देखापरेको समस्या समाधानको सवालमा आफु गम्भिर रहेको बताए । भण्डारीले सुधारको बाटोमा अघि बढेको इनरुवा अस्पतालमा झमेला निम्तनु दुखद भएको बताए । उनले यावत विषय उपर समितिको बैठकमा छलफल गरी निर्णयमा पुगिने बताए । उनले समेत आन्दोलित पक्षलाई काममा फर्किन आग्रह गरे ।छलफलका क्रममा नगर प्रमुख सहित सरोकारवालाहरुले आन्दोलित डाक्टरहरुलाई काममा फर्किन आग्रह गरेतापनि दिनभरजसो अस्पतालको सेवा भने ठप्प रह्यो । जसकारण सेवाग्राहीले सास्तीले झेल्नु परेको थियो ।

समाचार तयारी पूर्व साँझ अस्पताल पुग्दा इमरजेन्सी कक्षमा भने डाक्टरको उपस्थिति रहेको पाइएको थियो । इमरजेन्सीमा डाक्टरको उपस्थिति देखिएपनि भोली ओपिडी सेवा संचालन हुने हो वा हैन सो बारे यकिन साथ यसै भन्न सक्ने अवस्था भने देखिएको छैन ।यता अस्पतालमा सृजित पछिल्लो घटनाक्रमलाई नगरवासीले चासोका रुपमा हेरेको बुझिएको छ । उनीहरुले डाक्टर देबराजलाई हटाउन प्रपञ्च रच्न थालिएको आशंका जताएका छन ।उता अस्पताल सुधार संघर्ष समितिले आफुहरुको उपस्थितिलाई बन्देज लगाउन खोजिए आन्दोलन चर्काउन बाध्य हुने चेतावनी दिएको छ । उसले अस्पताल भित्रको वेथिति अन्त्य गर्दै सेवा तथा गुणस्तर सुधारकालागि संघर्ष गर्दा हुने प्रहार सहैय नहुने स्पष्ट पारेको छ ।समितिले अस्पताल सुधारमा डाक्टर देबराजको भूमिकालाई अहम मानेको छ । उसले इनरुवा अस्पताल भित्र परिवर्तनको अनुभूति गर्न थालिएकाले समेत स्वार्थमा रम्न चाहनेहरु डाक्टर देबराज विरुद्ध सुनियोजित रुपमा लागिपरेको बताएको छ । समितिले घिमिरेको पक्षमा सबै नगरबासी एकजुट हुनुपर्ने अवस्था समेत आउन सक्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia