जिल्ला अस्पताल सुनसरी इनरुवा परिषरमा प्रहरीले सरसफाई गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको अगुवाईमा अस्पताल परिषर सफाई गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजित सफाई कार्यक्रममा नगर प्रमुख केदार भण्डारी, उप प्रमुख विनितादेवी मेहताका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थिति रहेको थियो ।
प्रहरी उपरीक्षकद्वय प्रभु प्रसाद ढकाल र बिक्रम होमागाई लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाई, जिल्ला अस्पतालका मेसु डाक्टर देबराज घिमिरे लगायतले समेत सहभागिता जनाएका थिए । शनिवारको दिन पारेर आयोजना गरिएको सरसफाई कार्यक्रममा स्थानीय नागरिक समाजका अगुवा तथा सरोकारवालाले समेत स्वतःस्फुर्त सहभागिता जनाएका थिए ।
सफाई कार्यक्रममा सहभागी हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो रहेको थियो । कार्यक्रमलाई समुदाय प्रहरी बिचको दिगो समबन्ध कायम गराउने उद्येश्यसाथ संचालनमा ल्याइएको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राईले सामाजिक उत्तरदायित्वसँगै जनमैत्री प्रहरीको अवधारणा जगाउन यस्ताखाले कार्यक्रमले समाजमा महत्वपूर्ण छाप छाड्ने विश्वास व्यक्त गरे । उनले समाजका अन्य विविध क्षेत्रमा समेत समुदाय प्रहरी साझेदारी अन्र्तगतका कार्यक्रमहरु संचालनमा ल्याइने बताए ।