मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधि सभा सदस्थ तर्फ सुनसरी ४ मा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिश प्रसाद कुसियत बिचको प्रतिष्पर्धा हुने लगभग तय भएको छ ।
दुवै पार्टीको क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेकाले समेत सुनसरी ४ मा उनै दुई हेभिवेट नेता बिचको भिडन्त पक्कापक्की झैं देखिएको छ ।
कार्की वर्तमान सरकारका प्रवक्ता समेत हुन । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की क्षेत्र नम्बर ४ बाट उम्मेद्वारी दोहोर्याउने तरखरमा छन । उनी कोइराला परिवारको विरासत रहेको निर्वाचन क्षेत्रबाट चुनाव लड्न २०७४ सालमा भोजपुरबाट सुनसरी झरेका कांग्रेस नेता हुन ।
अघिल्लो चुनावमा एमालेले कमजोर उम्मेद्वार उठाएर कार्कीको जित सहज बनाइएको राजनैतिक वृतमा चर्चा हुने गरेको छ । यस पटक कार्कीको प्रतिष्पर्धीका रुपमा एमालेले कुसियतलाई उठाउने तयारीसाथ एकल नाम सिफारिस गरेकाले समेत चुनावी भिडन्त रोचक हुने धेरैको अपेक्षा छ ।
एमालेका नेता कुसियत प्रदेश १ का पूर्व भौतिक तथा पूर्वाधार मन्त्री हुन । स्थानीयवासी समेत रहेका नेता कुसियत लामो समयदेखि उक्त क्षेत्रमा राजनैतिक पकड जमाएका नेताका रुपमा चिनिन्छन । कुसियत २०५६ सालको उप निर्वाचनमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट निर्वाचित भएका व्यक्ति समेत हुन । त्यस पश्चात समेत उनी उक्त क्षेत्रमा निकै हेभिवेट नेताका रुपमा उभिदैं आएका छन ।
सुनसरी ४ मा कुसियत जातीय मतका साथै स्थानीयवासीका रुपमा समेत मजबुत मानिन्छन । जसले गर्दा अघिल्लो चुनाव जस्तो प्रतिष्पर्धी उम्मेद्वारलाई सहजै पाखा लगाउनु कार्कीकालागि त्यत्ति सहज भने नहुने राजनीतिका जानकारहरु बताउँछन ।
एमालेले कुसियतको नाम सर्वसम्मत एकल सिफारिस गर्दा कांग्रेसले समेत कार्कीको नाम एकल सिफारिस गरेतापनि सो क्रममा भने शेखर कोइराला पक्ष्यधर नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि पोखेका थिए । जसले समेत पार्टी भित्रको गुटबन्दीलाई दर्शाएको देखिन्छ ।
केन्द्रिय नेताकै पहलमा स्थानीय नेताले पूनः एकपटक कार्कीलाई स्थान दिइनु पर्ने भनि एकल नाम सिफारिस गराएपनि पार्टी भित्रकै असन्तुष्टि कार्कीलाई तगारो बन्न सक्ने सम्भावना भने नकार्न नसकिने असन्तुष्ट खेमाका नेताहरुको भनाई छ ।
त्यसका अलावा पार्टी भित्रको आन्तरिक किचलो, स्थानीय नेताहरुको महत्वकांक्षा, गुटबन्दी, सिट बाँडफाँड र पार्टी भित्रको बढ्दो असन्तुष्टि सँगै अन्र्तघातको सम्भावनाले यस पटक कार्कीलाई पिरोल्न सक्ने सम्भावनालाई नकार्न भने नसकिने स्वयं कांग्रेसीहरुलेनै बताउदै आएका छन ।
सम्भवत ः अर्को पल्ट स्थान खाली गर्नु पर्ने हुन सक्ने अवस्था आउन सक्ने भएकाले समेत कार्कीलाई आसन्न मंसिर ४ को निर्वाचन सोचे जत्तिको सहज नहुने राजनैतिक वृतमा चर्चा र परिचर्चा हुन थालेको छ ।
जसलाई स्वयं कांग्रेस भित्रकै नेता कार्यकर्ताले राम्ररी मनन गरेका छन । उनीहरुले आन्तरिक असन्तुष्टि रहेको स्विकारेको समेत छन । यद्यपि, उनीहरु चुनाव सम्ममा सबै मतमतान्तरहरु समाधान हुनेमा विश्वस्त छन । यस्तो अवस्थामा सुनसरी ४ मा हेभिवेट नेता कार्की र कुसियत बिच चुनावी भिडन्त भएमा त्यो रोचक र कडा प्रतिष्पर्धा हुने धेरैको अड्कलबाजी छ ।