काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा फलोअर्स ह्वात्तै घटेपछि धेरैले आश्चार्य मानिरहेका छन् । अरु त अरु नै भए । बुधबार बिहान फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक पेजका फलोअर्स घटेर ९ हजार ९९५ मात्र बाँकी रहे । मंगलबारसम्म उनको पेजमा झण्डै १२ करोड फलोअर्स थिए ।
जुकरबर्गका मात्र होइन, अन्य फेसबुक प्रयोगकर्ताको पनि फलोअर्स त्यसै गरी घटेका छन् । फेसबुकमा देखिएको बगका कारण यसरी फलोअर्स घटेका हुन् । तर फलोअर्स घट्नुका कारणका बारेमा फेसबुकले कुनै जानकारी सार्वजनिक गरेको छैन । फेसबुकले यसअघि फेक अकाउन्ट डिलिट गर्ने अभियान सुरु गरेको थियो । त्यसरी फेक अकाउन्ट डिलिट गर्दा लाखौँ फलोअर्स भएका पेजबाट केही हजार फलोअर्स घट्नु स्वभाविक भएको मेटाले नै बताएको थियो । मेटाका अनुसार फेक एकान्ट बन्द गर्दा फलोअर्स ह्वात्तै घटेको हुनसक्छ । केही समय अघिमात्र मेटाले फेक एकाउन्ट बन्द गरिदिएको जनाएको थियो । यसै वर्षको अप्रिलदेखि जुनसम्म विश्वभर एक अर्ब ६० करोड फेक एकाउन्ट बन्द गरिएको मेटाले जनाएको छ । तर अहिले करोडौं फलोअर्स भएका जुकरबर्गकै फलोअर्स ९ हजार ९९५ मा झर्नुको कारण भने बग नै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।