इटहरी । कृषि यान्त्रिकरणलाई स्थानीय तथा प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । कृषिमा लागत घटाउन र उत्पादन बढाउन कृषिको यान्त्रिकरण अनिवार्य रहेको बताउँदै त्यसको लागि स्थानीय र प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
सगुन कृषि सहकारी संस्था लि. इटहरीले आयोजना गरेको कृषि यन्त्र मर्मत तालिम समापन कार्यक्रममा सहभागि प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा कृषि क्षेत्रका अगुवाहरुले यान्त्रिकरणमा जोड दिएका हुन् । सुनसरी सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा यान्त्रिकरणको लागि कस्टम हायरिङ सेन्टरहरुको संख्या थप गर्न र विस्तार गर्न आवश्यक रहेको उनीहरुले बताएका छन् ।
कार्यक्रममा सहभागि प्रदेश सांसद रामप्रसाद मेहताले कृषि क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । उनले सिँचाइ, मलबिउदेखि यान्त्रिकरणसम्मको आवश्यकतामा जोड दिए । ‘सबै क्षेत्र आपसमा सहकार्य गरेर अघि बढ्न आवश्यक छ,’ उनले भने, ‘प्रदेश सरकारको तर्फबाट के गर्न सकिन्छ, मेरो सहयोग रहन्छ ।’
यस्तै प्रदेश १ उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाले स्थानीय तहले आफ्नो ठाउँको कृषिको विकासको लागि नेतृत्व गर्नुपर्नेमा जोड दिएका थिए । उनले कृषिमा अझैपनि विभिन्न समस्याहरु रहेको बताउँदै पहिलो प्रयास वडा कार्यालय र गाउँपालिकाबाट सुरु हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै सहकारीका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्यासिफिक रिजन तथा वातावरण समितिका सदस्य टिकादत्त वनले कृषि यान्त्रिकरणका लागि आफ्नो प्रयास र उपलब्धी तथा आवश्यकताबारे बताएका थिए । उनले आफूहरुले १० वर्षअघि नै सुनसरीमा कम्बाइन हार्भेस्टर ल्याएर सञ्चालन गरेको स्मरण गर्दै १० वर्षपछि व्यवस्थित रुपमा प्रदेशमै पहिलो पटक कस्टम हायरिङ सेन्टर सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले जमिनको चक्लाबन्दी, यान्त्रिकरणका लागि स्थानीय तहहरुले विशेष भूमिका निभाउनुपर्नेमा जोड दिए । उनले संस्थाले उपलब्ध गराइरहेका मेसिनहरुको बारेमा जानकारीसमेत प्रस्तुत गरेका थिए ।
प्रदेश १ कृषि विकास निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले सुनसरीका तीन गाउँपालिकाबाट जमिन चक्लाबन्दी सुरु गरेको बताउँदै ती जमिनमा आधुनिक प्रविधिको प्रयोग गरेर खेती गरिने बताएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष कमलकान्त राईको सभापतीत्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र शाह, इनरुवा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष अशोक शाह, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र उपमेयर तारा थापालेसमेत कृषिमा यान्त्रिकीकरणको महत्वमा जोड दिएका थिए । उनीहरुले आफ्नो ठाउँमा यान्त्रिकरणको प्रयोग बढाउन सहयोग गर्नेसमेत प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) सँगको सहकार्यमा सञ्चालित कस्टम हायरिङ सेवाकेन्द्रका कृषि यन्त्रहरुको मर्मत तथा सम्भार तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने संस्थका संस्थापक सदस्य तथा प्रदेश सभा सांसद मेहतालाई सम्मानसमेत गरिएको थियो । कस्टम हायरिङ सेवा केन्द्रले किसानहरुलाई सुलभ मूल्यमा आधुनिक कृषि यन्त्र उपकरणहरु भाडामा उपलब्ध गराउने गरेको छ ।