मोरङ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।निर्माण कम्पनीका प्रतिनिधिलाई मङ्गलबार महानगरमै बोलाएर स्थानीयवासीले धेरै नै सास्ती व्यहोर्नु परेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल समेत गरे ।स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न प्रमुख कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको प्रमुखका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । विसं २०८० साउन १६ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी भूमि कन्ट्रक्सनले ठेक्का लिएको थियो । तर भूमि कन्ट्रक्सन निर्माणकार्य अलपत्र पारेर सम्पर्कविहीन भएपछि देव एण्ड सायर कन्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जीनियर दीपेन्द्र चौधरीले जानकारी दिए ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नं ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, महानगरका इञ्जीनियर अर्जुन थापा, निर्माण कम्पनीका इञ्जीनियर दीपक चौधरी, साइट इन्चार्ज उमेश निरौलाको सहभागिता रहेको थियो ।स्थानीयले ढाट लगाएर आवतजावत बन्द गर्दा निर्माण सामग्री ल्याएर काम गर्न समस्या भएको साइट इन्चार्ज निरौलाले गुनासो गरे । उनले पश्चिमबाट काम सुरु भइसकेकाले ढाट हटाउन पहल गरिदिन महानगर प्रमुख कोइरालासँग आग्रह गरेका थिए । वर्षातमा हिलाम्मे र सुक्खामा धुलाम्मे भएपछि स्थानीय जनताले निर्माणकार्यलाई दबाब बढाउन ढाट लगाउनु परेको गुनासो गरेका छन् ।









