काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १०० दिनमा गरेको उपलब्धिहरूको सूची सार्वजनिक गरेका छन् । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफू सरकारको नेतृत्वमा आएपछि आर्थिक क्षेत्रलगायतमा सुधार भएको दाबी गरेका छन् ।

३७ बुँदामा प्रकाश पारिएको विवरणमा भनिएको छ, ‘जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रियाकलापहरूलाई पुनः चलायमान र तीव्र बनाउने, वैदेशिक मुद्रा सञ्चिति, मौद्रिक तरलता र कर्जाको स्थितिमा सुधार गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने, सार्वजनिक सेवा प्रवाहलाई थप चुस्त र नागरिक मैत्री बनाउने, भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने तथा राज्यको सबै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहिता कायम गर्ने कुरालाई सरकारले जोड दिँदै आएको छ । अर्थतन्त्रको पुनरुत्थान, सेवा प्रवाहमा सुधार, सुशासन, विकास र सामाजिक न्यायलाई प्रमुख प्राथमिकतामा राखेर काम सुरू गरिएको छ ।’

प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्र सुधारको प्रयासअन्तर्गत विभिन्न पहल गरेको र धेरै हदसम्म अर्थतन्त्रमा सुधार देखिएको दाबी गरिएको छ । ‘विश्व अर्थतन्त्रमा देखा परेका नकारात्मक प्रवृत्ति र कतिपय आन्तरिक कारणबाट सिर्जित चुनौतीको कारण अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न प्रयास गरिएको छ । निजी क्षेत्रको व्यवसायिक आत्मविश्वास जगाउन एवं सरकार र निजी क्षेत्रबिचको सम्बन्ध सुदृढ बनाउन प्रयास केन्द्रित गरिएको छ ।’

विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरुसँग छलफल अन्तरक्रिया गरी गुनासो व्यवस्थापनका साथै अर्थतन्त्र सुधारका लागि सुझाव समेत प्राप्त गरिएको उपलब्धीमा जनाइएको छ । नेपाल राष्ट्र बैंकसँग समन्वय गरी बैंक तथा वित्तीय क्षेत्र सम्बन्धमा निजी क्षेत्रका गुनासा सम्बोधन गर्ने प्रयास गरिएको (चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा) छ ।
लघुवित्तमा देखिएको समस्या समाधान गर्न समन्वयात्मक बैठकको आयोजना गरिएको छ। लघुवित्त वित्तीय संस्थाहरुले लिएको अतिरिक्त सेवा शुल्क बापतको रकम १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्ने, लघुवित्तहरुले वार्षिक १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने, एउटा ग्राहकले एउटाभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्था मिलाइएको छ ।

आर्थिक एवं बैंकिङ क्षेत्रका समसामयिक विषयमा छलफल गरी समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा निजी क्षेत्र, लघु वित्त, नेपाल बैंकर्स संघ, नेपाल राष्ट्र बैंक समेतको सहभागितामा उच्चस्तरीय बैठक आयोजना गरिएको छ । यी सुधारका प्रयासको फलस्वरुप अर्थतन्त्रका बाह्य क्षेत्रका महत्वपूर्ण सूचकहरु जस्तै : सोधनान्तर स्थिति, चालु खाता, विप्रेषण आप्रवाह, विदेशी विनिमय सञ्चिति आदिमा सुधार देखिएको छ’ विवरणमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia