सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ धरानको खानेपानी समस्या लगायतका विकास योजनाको सूची बोकेर सिंहदरबारस्थित विभिन्न मन्त्रालय पुगेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेका साम्पाङले मंगलबार सिंहदरबार स्थित विभिन्न मन्त्रालय पुगेर धरान उपमहानगरपालिकाको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् ।
मेयर सम्पाङले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा धरानको खानेपानीका लागि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी ल्याउनुपर्ने आवश्यकता उल्लेख उल्लेख गरेका छन् ।करिब १ अर्ब ५० करोड लागत लाग्ने धरान उपमहानगरपालिका–२० को बानियाँ जलाशय निर्माण र खानेपानी तथा मोटरहरु खरिद गर्न संघीय सरकारले सहयोग गर्नुपर्ने माग उनको छ ।

हाल रहेको खानेपानी संरचना सुधार र पम्प तथा मोटर खरिदका लागि पनि पैसा मागिएको छ । शहरी विकास मन्त्रालयबाट गठित टोलीले पम्प र मोटरहरू खरिद गर्न आवश्यक रहेको सुझाव दिएकाले १० करोड रूपैयाँ बजेट विनियोजनका लागि संघीय सरकारसमक्ष माग गरिएको छ ।

सम्पाङले मंगलबार भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री गुरुङलाई भेट आयोजनाको सूची बुझाएका छन् । यसैगरी जसपा नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राइलाई भेटेर धरानको शिक्षा सम्बन्धी माग बुझाएका छन् ।









