इनरुवा। कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने ६ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँका दरले दिने अनुदान सुनसरीको इनरुवामा प्रदान गरिएको छ। स्थानीय तथा ग्रामीण क्षेत्रमा भैसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दुधमा प्रतिलिटर दुई रुपियाँका दरले अनुदान रकम प्रदान गरिएको हो ।

शुक्रबार नवयुग दुग्ध संकलन तथा वितरण केन्द्र इनरुवा ५ बलाहामा कोशी प्रदेश सरकारका उधोग कृषि तथा सहकारी मन्त्री भक्ती प्रसाद सिटौलाको हातबाट किसानलाई दुधमा प्रतिलिटर दुई रुपियाँका दरले अनुदान रकम प्रदान गरिएको छ । इनरुवा ९ बबियाका किसान सोहेव खाँले १३ हजार ८ सय रुपियाँ सहित सो भन्दा कम दुध दिनेहरुलाई सोही अनुसार डेरीमा प्राप्त दुधको विवरण अनुसार प्रतिलिटर दुई रुपियाँका दरले अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध संकलन तथा वितरण केन्द्र इनरुवाका सञ्चालक गोविन्द पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार नवयुग दुग्ध संकलन तथा वितरण केन्द्रमा दुध दिने २०० जना किसानलाई अनुदानका रकम हस्तान्तरण गरिएको हो । केन्द्रका अर्का संचालक राजकुमार न्यौपानेका अनुसार अनुदान रकम वितरण कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रामप्रसाद मेहता, इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, इनरुवा ५ का वडा अध्यक्ष अनिल कुमार पोखरेल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमार खत्री, नवयुग दुग्ध संकलन तथा वितरण केन्द्र इनरुवाका रिचा न्यौपाने, रन्जना पोखरेल, कृषक जमुना पोखरेल, रामु मेहता सहितकाले उपस्थिती रहेको थियो ।
ग्रामीण क्षेत्रमा भैसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु १२ करोड ५० लाख रुपियाँ रकम अनुदानका लागि विनियोजन गरेको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने कार्यक्रम रहेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका प्रमुख सचिव मेघनाथ तिमिल्सिानाले बताउनुभयो ।
इनरुवाको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै तिमिल्सिानाले भन्नुभयो, “यो कार्यक्रम प्रदेशमा पहिलो पटक लागू भएपनि निकै उपयोगी हुनेमा आशावादी छौँ”,। जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध सङ्कलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट सुनसरीको हकमा १८ वटा संस्था छनोटमा परेकाले सोही संस्थामार्फत किसानको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई अनुदान रकम वितरण गरिएकाले जानकारी दिनुभयो ।


सुनसरीमा अनुदान वितरणका लागि १८ डेरी र सहकारी छनोट भएका थिए । तिनीहरुले दूध उत्पादन गरिरहेका किसानको लगत सङ्कलन गरेर प्रतिलिटर दुई रुपियाँका दरले अनुदान वितरण गरिएको जनाएको छ । उत्पादनका आधारमा किसानलाई अनुदान दिँदा साना किसान बढी लाभान्वित हुने उहाँको भनाइ छ ।
अनुदानले किसानलाई प्रोत्साहन हुने र दूध उत्पादनमा वृद्धि गर्ने सरकारको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो । “प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन यो कार्यक्रम अघि सारिएको हो”, तिमिल्सिनाले भन्नुभयो, “अनुदानको कार्यक्रमले कृषक आकर्षित हुन्छन् र दूध उत्पादन वृद्धिमा मन लगाएर लाग्छन् ।”
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमार खत्रीले जिल्लाका १८ संस्थाले किसानलाई अनुदान रकम वितरणका लागि कार्यालयबाट अनुमती पाएको र जिल्लामा ३५ लाख लिटर दुधका लागि ७० लाख रुपियाँ अनुदान आएकोले सोही रकम शुक्रबार वितरण गरिएको बताउनुभयो । उहाँले दूध सङ्कलन गर्ने संस्थाबाट आएको आवेदनका आधारमा छनोट गरी किसानको तथ्याङ्क र दूधको परिणामको विवरण लिई रकम वितरण गरिएको बताउनुभयो । उहाँले ६–६ महिनामा किसानलाई रकम वितरण गर्ने भनिए पनि विवरण समयमा नआएकाले चैतको अन्तिममा रकम वितरण गरिएको बताउनुभयो ।








