इटहरी । मोरङ प्रहरीले मोटरसाइकल चोरी नियन्त्रण विशेष अपरेसन अन्तर्गत चोरीका मुख्य गिरोहसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुई जना भारती नागरिक पनि रहेका छन् । मोरङ र सप्तरी जिल्लाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गर्ने संगठित गिरोहका २ जना भारतीय सहित ६ जनालाई चोरी आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।मोटरसाइकल चोरी आरोपमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ का १८ बर्सिया राज कुमार यादव, भारतको अररिया लक्ष्मीपुर १० बस्ने वर्ष २५ का सुशील कुमार यादव, सोही ठाउँका २५ बर्सिया सौरभ कुमार यादव, विराटनगर महानगरपालिका दिनेश साह, सोही ठाउँका संजय साह र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ का २० बर्सिया सुमन कुमार यादव लाई पक्राउ गरेको डिएसपी दाहालले बताए । प्रहरीले उनीहरूको साथबाट चोरीको पाँच थान मोटरसाइकल र चोरीमा प्रयोग गरिने मास्टर चाबी पनि बरामद गरेको छ ।
२०७९ फागुन १० गते विराटनगर ७ स्थित मालपोत कार्यालय अगाडीबाट बेलबारी नगरपालिका वडा नं. ४ बस्ने वर्ष ६० का बम बहादुर खवासले पार्किङ गरी राखेको को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी भएको थियो । यस्तै चैत २४ गते विराटनगर महानगरपालिका वडा नं. १६ जोगवनी स्थित नेपाल सरहद भित्र जिल्ला सप्तरी कन्चनपुर बस्ने केशव प्रसाद गुप्ताले पार्किङ गरी राखेको प्रदेश नं. २–०२–००३ प ५२५९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।यसैगरी माघ २१ गते विराटनगर महानगरपालिका वडा नं. २ स्थित सेन्ट्रलमहलको पर्किङ्ग स्थलमा विराटनगर ४ कञ्चनबारी बस्ने सुरेन्द्र कार्कीले पार्किङ गरी राखेको को २७ प ६९४९ नम्बरको स्कुटर चोरी भएको थियो । उक्त मोटरसाइकल र चोरी संलग्न पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चोरी गरेको मोटरसाइकलहरू पहाडी जिल्लाका दुर्गम स्थान र सुनसरी जिल्लाका ग्रामीण क्षेत्र हुँदै भारतका विभिन्न स्थानहरूमा पुर्याई बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । चोरी गरेका मोटरसाइकलहरू नेपाल–भारत सीमा हुँदै अवैध मदिरा ओसारपसार तथा लागू औषध ओसारपसार गर्न र यस्ता मोटरसाइकलका इन्जिनहरू पानी तान्ने मोटरको रूपमा प्रयोग गर्न समेत यस्ता गिरोहले बिक्री गर्ने गरेको पाइएको उनले बताए ।विगत लामो समयदेखि मोटरसाइकल चोरी गर्ने पेसेवर गिरोहलाई निगरानीमा राखी सादा पोसाकमा विशेष अपरेसन टोली खटाइएर चोरिएका मोटरसाइकलहरूको खोजी गर्ने गरिएको बताए । धेरै जसो विराटनगरबाट हराएका मोटरसाइकलहरू धनकुटालगायतको पहाडी जिल्लाहरूको ग्रामीण बस्तीहरूमा पुग्ने गरेको पाइएको बताउँदै उनले त्यस्ता क्षेत्रमा निगरानी बढाइएको सुनाए ।सवारीधनीहरुले अतिरिक्त लक एवं सुरक्षाका उपायहरू नअपनाउँदा चोरी हुने संख्या समेत बढ्दै गएको सवारी धनी पनि सचेत हुनुपर्ने देखिएको एसपी पोखरेलले बताए ।










