इलाम । इलाममा नयाँ वर्षको सन्दर्भ पारेर आयोजित महोत्सवमा प्रमोद खरेल सहभागी सांगीतिक कार्यक्रममा भागदौड मच्चिँदा करीब एक दर्जन दर्शक घाइते भएका छन् । इलामको टुंडिखेलमा शुक्रबार राती भएको सांगितिक कार्यक्रममा धेरै भीडभाड भएर गेटबाट छिर्ने क्रममा एक दर्जन व्यक्तिहरू घाइते भएका जनाइएको छ।
घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की अन्जु राई, सूर्योदय–१४ का मिलन लिम्बु, देउमाई–२ की प्रविना राई, फाकफोकथुम गाउँपालिका–७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका–५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा–५ की काजल राई, इनपा–७ का रमेश बुढाथोकी, इनपा–८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका–२ का नाबालक साजन राई छन् ।घाइतेहरूको इलाम अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । इलामका सांसद महेश बस्नेत अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारेमा जानकारी लिएका छन् ।उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई जिल्ला अस्पताल इलाममा ल्याइएको छ । यसअगाडि धनकुटा महोत्सवमा पनि गायक प्रमोद खरेलको कन्सर्ट हेर्न पुगेकाहरू अनियन्त्रित भीडमा परेर २५ बढी घाइते भएका थिए ।








