इटहरी। सुनसरीको इनरुवामा आइतवार दिउसाे लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच झडप भएको छ । बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हाे ।लघुवित्त पीडितहरुले तीन घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो ।प्रहरीले यातायात सञ्चालनमा अवरोध नगरी आन्दोलन गर्न सम्झाए पनि आन्दोलनकारीले नमान्दा प्रहरीले उनीहरुलाई लट्ठी चार्ज गरी लखेटेर सडक खुलाएको थियो । सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका केही घाइते भएका छन् ।

आन्दोलनका कारण पूर्व-पश्चिम राजमार्ग अन्तर्गत इनरुवा बसचोक खण्डमा दिनभर सवारी सञ्चालन हुन सकेको छैन । आन्दोलनकारी विहानैबाट सडकमै सुतेका थिए । आन्दोलनमा सहभागी अधिकांश महिला भएकाले समेत प्रहरी लामो समय संयमता अपनाएको थियो । आफूहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै आन्दोलनकारीले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।









