इटहरी । मोरङमा दुई नाबालिका बलात्कृत भएका छन् । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा ४ र ३ वर्षका नाबालिका बलात्कृत भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुवै घटनामा पारिवारिक भित्रकै सदस्यकाे संलग्नता देखिएकाे छ ।३ वर्षीयालाई बलात्कार गरेकाे आराेपमा १२ वर्षका दाजु पक्राउ परेका छन् । ४ वर्षीय नाबालिकामाथि बलात्कार गरेकाे आराेपमा उनका काका पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–७ मा ४ वर्षकी नाबालिका शुक्रबार राति बलात्कृत भएको प्रहरीले बताएको छ । पीडितका अभिभावक मोरङको कटहरी गाउँपालिका–३ घर भइ उर्लाबारी–७ मा डेरा बस्दै आएका थिए ।
नाबालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय काका पक्राउ परेको डीएसपी दाहालले बताए । नाबालिकाले घटनाका बारेमा आमालाई सुनाएपछि उनीमाथि बलात्कार भएको विषय बाहिरिएको प्रहरीले जनाएको छ ।मिक्लाजुङ गाउँपालिका–४ मा बिहीबार साँझ ३ वर्षीया नाबालिका बलात्कृत भएकी छन् । दलित समुदायकी नाबालिकालाई दाजु (ठूलोबुवाका छोरा)ले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पीडक बालक १२ वर्षका छन् ।घरमा अभिभावक कोही पनि नभएको बेला दाजुले नाबालिकलाई बलात्कार गरेको पाइएको प्रहरीले बताएको छ । घटनाका बारेमा प्रहरीले शुक्रबार साँझ ७ बजेतिर जानकारी पाएको थियो । जानकारी पाए लगतै प्रहरीले नाबालिका बहिनीलाई बलात्कार गर्ने १२ वर्षीय बालकलाई उनकै घरबाट नियन्त्रणमा लिएको छ । दुवै घटनामा संलग्न भएकाे आराेपमा पक्राउ परेका विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।










