इटहरी । रानी – विराटनगर , इटहरी– धरान ६ लेन राजमार्ग निर्माणको काम अब चुस्त र द्रुत गतिमा अघि बढने भएको छ । बुधवार इटहरी उपमहानगरपालिकामा भएको त्रिपक्षीय छलफलले काम द्रुत गतिमा अघि बढने प्रतिबद्धता सहित लिखित सहमति भएको छ । ६ लेन राजमार्ग अन्तरगत तरहराको चाकोशे हुँदै सेउती सम्म रोकिएको सडक मर्मतको काम आगामी ३ दिन भित्र सम्पन्न गर्ने र असार मसान्त भित्रै मुख्य कामहरू पनि सक्ने प्रतिबद्धता सहित लिखित सहमति भएको हो ।उपमहानगरका मेयर हेमकर्ण पौडेलको कार्यकक्षमा भएको छलफलपछि यस्तो सहमति भएको हो । मेयर पौडेलले राजमार्ग निर्माण गर्ने बारे पटक पटक ठेकेदार कम्पनी सँग दबाब बढाए पनि सुनुवाइ नगरेकोले गत शुक्रवार गाडी नै नियन्त्रणमा लिएका थिए । ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएपछि ६ लेन सडक परियोजना प्रमुख , ठेकेदार कम्पनीका सञ्चालक दुबैलाई राखेर काम छिटो सक्ने प्रतिबद्धता सहित लिखित सहमति गराइएको उपमहानगरका प्रवक्ता तथा वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए ।
राजमार्गले भोग्नु परेको सास्ती र नागरिक स्तरबाट आएको दबाब थेग्न नसकेपछि सम्बन्धित पक्षहरूलाई कार्यालयमा बोलाएर लिखित सहमति सम्म गराउने वातावरण मिलाएको नगर प्रमुख हेमकर्ण पौडेलको भनाइ छ । अब ३ दिन पछि काम सुरु हुन्छ जनताले त्यो सास्तीबाट चाडै मुक्ती पाउनेमा आँफु विश्वस्त रहेको नगर प्रमुख पौडेल बताउछन ।६ लेन राजमार्ग अन्तरगत ४९ किलो मिटर मध्ये तरहरा – सेउती ५.३ किलोमिटर सडक मात्रै निर्माण बाकि रहेको छ । उक्त राजमार्ग हिम धुङ् थोकर एण्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का लिएको थियो । संगैमा ठेक्का लागेको सेउती – तीनकुने राजमार्ग भने निर्माणको अन्तिम चरणमा पुगिसकेको छ ।
उक्त राजमार्गलाई रौताहा कन्ट्रक्सनले ठेक्का लिएको थियो । दुवै राजमार्ग एकैसाथ ठेक्का लागे पनि काम भने एक पक्षले मात्र समयमै सक्ने देखिएको छ । ६ लेन राजमार्ग आयोजनाका प्रमुख दानबहादुर शाक्यले भने सडक मर्मतमा निर्माण कम्पनीले चासो नराखेको आरोप लगाए । पटक पटक सम्पर्कमा आउन आग्रह गर्दा पनि नआउने र काम गर्न दबाब दिँदा पनि नसुन्ने गरेको आयोजना प्रमुख शाक्यले आरोप लगाए । अझै पनि समय बाकि रहेकाले निर्माण कम्पनीलाई काममा दबाब दिए समयमै काम सम्पन्न हुन सक्ने उनको तर्क छ ।यता इटहरी उपमहानगरले बाध्य भएर सवारी नियन्त्रणमा लिएपछि तरहरा देखि सेउती सम्मको ठेक्का पाएको हिम धुङ् थोकर एण्ड प्यासिफिक जेभी कम्पनीका सञ्चालक ठाकुर कडेल सम्पर्कमा आएका हुन । उनले प्राविधिक कठिनाइका कारण निर्माणमा ढिलासुस्ती भएको तर समयमै काम सक्ने प्रतिबद्धता जनाएका छन् ।
उनले केन्द्रीय ल्याबबाट रिपोर्ट आउना साथ कालोपत्रेको काम सुरु गरिहाल्ने बताए । ल्यावको रिपोर्ट आउन अझै १२ देखि १५ दिन लाग्ने उनको भनाइ छ । तोकिएको समय सीमा भित्रै महत्त्वपूर्ण कामहरू सकिने निर्माण कम्पनीका सञ्चालक कडेंलले बताए । उनले असार मसान्त सम्ममा तरहरा देखि सेउती पुल सम्मको राजमार्गका सबै काम सक्ने उपमहानगरका मेयर हेमकर्ण पौडेल समक्ष प्रतिबद्धता सहित लिखित सहमति गरेका छन् ।














