काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । सगरमाथामा आज बुधवारसम्म चार सय ६३ जनाले आरोहण अनुमति लिएका र यो अहिलेसम्मकै धेरै रहेको पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखाका संयोजक युवराज खतिवडाले जानकारी दिए । यसअघि सबैभन्दा धेरै सन् २०१९ मा तीन सय १५ जनाले आरोहण अनुमति लिएका थिए । कोरोना महामारीका कारण प्रभावित भएको पर्यटन व्यवसाय लयमा फर्कदै गर्दा पर्वतारोहणसम्बन्धी व्यवसायले भने इतिहासकै ’रेकर्ड’ तोड्दै उत्साहित बनाएको खतिवडाले बताए ।
पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई-तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन् । समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब चार सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ ।अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन् । सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ७३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ । अनुमति लिएका आरोहीहरू सगरमाथालगायतका हिमालको आधार शिविरमा पुग्ने क्रम चलिरहेको छ ।
सगरमाथा आधार शिविरमा सरकारको कार्यालय
यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले सगरमाथाको आधार शिविरमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यसअघिका वर्षहरूमा सगरमाथामा विभिन्न गैरकानुनी क्रियाकलाप हुने गरेको तथा विभिन्न आरोही समूहबीच झगडा समेत हुने गरेको गुनासो आउने गरेकोमा त्यसलाई निगरानी र नियन्त्रण गर्न सम्पर्क कार्यालय नै स्थापना गरेको विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिएका छन् ।सगरमाथामा अनुमति नलिएकाहरूले विभिन क्रियाकलाप गरेको तथा आरोहण नै नगरी नक्कली कागजात बनाएर आरोहण पूरा गरेको प्रमाणपत्र लिएकोसम्म घटनाहरू बाहिरिएपछि विभागले यस पटक कार्यालय नै स्थापना गरेको हो । यस्तै विभागले खटाएका सम्पर्क अधिकृतहरू आधार शिविर नै नपुगेको गुनासोको समेत समाधानका लागि कार्यालय स्थापना गरेको विभागले जनाएको छ ।











