इनरुवा। सुनसरीको इनरुवा नगरपालिका ७ चान्दबेलामा स्वास्थ्य कार्यालयले सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । सुर्तीजन्य पदार्थ सेवनका कारण हुने क्षतिबाट नागरिकलाई बचाउने लक्ष्यका साथ स्वास्थ्य कार्यालय सुनसरीले मंगलबार इनरुवा ७ चान्दबेलामा सुर्तीजन्य पदार्थ सेवन न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । सरोकाबरालाहरु सहित वडाका जनप्रतिनिधि, शिक्षक प्रधानाध्यापक, विद्यार्थी, वाल क्लब, समाजसेवी, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रतिनिधि लगायतलाई सहभागी गराएर सचेतना कार्यक्रम गरिएको समन्वयकर्ता तोया गिरीले जानकारी दिनुभएको छ । युवा, महिला तथा बालबालिका अवस्थाका नागरिकलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन, धूम्रपान, मध्यपान तथा सुर्ती सेवनले आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा पर्ने नकारात्मक असर नियन्त्रण गरी नागरिकको स्वास्थ्य र आर्थिक हित अभिवृद्धि गर्न कार्यक्रम गरेको हो ।

प्रशिक्षक स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक पर्शुराम साहले सुर्तीजन्य पदार्थको आयत, उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा सहभागीलाई धूम्रपान तथा सुर्ती सेवन गर्न छाडे हृदयाघात, क्यान्सर, मधुमेहको जोखिम कम हुने, फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या कम हुने, मुख, दाँत, गिजा स्वस्थ्य रहने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना कम हुने, आँखाको दृष्टि कमजोर हुनबाट जोगिने, श्रवण शक्ति कमजोर हुनबाट जोगिने, गर्भावस्थामा हुने जोखिम कम हुने लगायतका विषयबारे जानकारी दिइएको थियो । कार्यक्रम स्वास्थ्य प्रमुख सागर प्रसाईको अध्यक्षता एवं इनरुवा नगरपालिकाका ७ का वडा अध्यक्ष हिम्मत सिंह खबासको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो । कार्यक्रममा इनरुवा स्वास्थ्य शाखाका अधिकृत निखिल पोखरेल, पत्रकार जयकृष्ण यादव, स्वास्थ्य चौकी चन्दबेलाका प्रमुख श्यामसुन्दर मेहता, नेकपा एकिकृत समाजबादी पार्टीका नेता सरस्वती लुईटेल केसी, नेपाली काग्रेंस, एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले बोल्नुभएको थियो । सन् २०२० को विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक २४ लाख मानिसको मृत्यु हुने गरेको छ । सन् २०१८ को तथ्याङ्क हेर्दा ९६ लाख मानिसको क्यान्सरबाट मृत्यु भएको छ । विश्वभर मृत्यु हुने कारणमध्ये क्यान्सर दोस्रो नम्बरमा पर्छ । यो समस्या सबै भन्दा बढी मध्यपान र धुम्रपानका कारणले हुने गरेको कार्यक्रममा जानकारी दिएको थियो ।










