काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने / नहुने भन्नेबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज (शुक्रबार) निर्णय लिने भएको छ ।आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने जनाइएको छ ।रास्वपा प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् ।गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरिरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बुधबार भक्तपुरको बालकोट निवास पुगेका छन् । अपरान्ह झण्डै पौने घण्टा भएको भेटवार्तामा अध्यक्ष ओलीले रविलाई मिलेर जान प्रस्ताव राखेका थिए ।त्यसअघि एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित दोस्रो तहका नेताहरुले पनि रास्वपाका नेताहरुलाई मिलेर अघि बढ्न आग्रह गरेका थिए । वैशाख १० को उपचुनावमा चितवन २ र तनहुँ १ रास्वपाले जितेपछि एमाले उक्त पार्टीसँग नजिकिन खोजिरहेको छ । किनकी रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिइराखेको छ ।










