संखुवासभा । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा मृत्यु भएको छ । घाइते भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।उपचारका लागि काठमाडौं लैजाने क्रममा गुरुङको हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको जनाइएको छ । गुरुङको मृत्यु भएपछि संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको बास्तोलाले बताए । गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित तीन जनालाई उपचारका लागि काठमाडौैं ल्याइएको संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । क्याप्टेन पौडेलको टाउकोमा चोट लागेको बताइएको छ ।

क्याप्टेनसहित हेलिकोप्टरमा पाँच जना सवार थिए । सिम्रिक एयरको हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएको थियो । बिहीबार संखुवासभामै पार्क भएको उक्त हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाँदै थियो । हेलिकोप्टर दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो ।त्यसको केही समयपछि भोटखोला गाउँपालिका ४ सिब्रुङमा दुर्घटनामा परेको थियो । हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटना भएको खुलेको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia