संखुवासभा । नेपालकै सबैभन्दा गहिरो अरुण उत्पत्यकामा रहेको तुम्लिङटार विमानस्थलमा आज (मंगलबार) देखि ७० यात्रु क्षमता भएको फ्रेन्च–इटालियन विमान एटीआर–७२ ले काठमाडौंबाट सिधा उडान सुरु गरेको छ ।बुद्ध एयरको एटीआर–७२ विमानले परीक्षण उडान सफल भएको झण्डै एक वर्षपछि तुम्लिङटारमा ठूलो एटीआर विमानबाट व्यावसायिक उडान सुरु गरेको तुम्लिङटार विमानस्थल प्रमुख भानु कोइरालाले बताए ।
‘सातामा ५ दिन ७० यात्रु क्षमताको एटीआर र २ दिन ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानबाट व्यावसायिक उडान हुनेछ,’ विमानस्थल प्रमुख कोइरालाले भने ।टर्बोप्रोप ट्वीन इन्जिनयुक्त एटीआर छोटो दूरीमा पर्ने क्षेत्रीय सहरहरु जोड्ने विमान हो । नेपालमा पोखरा र सुर्खेतपछि यो विमानले मध्यपहाडको खोचमा पर्ने तेस्रो गन्तव्य तुम्लिङटारमा व्यावसायिक उडान थालेको छ ।२०२९ सालदेखि उडान शुरु भएको तुम्लिङटारमा १९ देखि ५० सिट क्षमताका विमानले उडान गर्थे । यो विमानस्थल समुन्द्र सतहबाट १३ सय १६ फिट उचाइमा पर्छ ।

कोभिड महामारीपछि मकालु हिमाल आरोहण जाने पर्यटक तथा व्यवसायी र स्थानीयको चाप बढेपछि बुद्धले गत वर्ष जेठ २१ मा पहिलो पटक ठूलो जहाजबाट परीक्षण उडान गरेको थियो । उक्त उडानको प्रतिवेदनपछि नागरिक उड्डयन प्राधिकरणले तुम्लिङटारमा एटीआर–७२ लाई पनि उडान अनुमति दिएको थियो ।








