काठमाडौं । तालिबानसँगको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।उनले शुक्रबार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन् । योसँगै हरिले विश्व कीर्तिमानसमेत बताएका छन् । उनी सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडामाथि दुवै अंगविच्छेद भएका व्यक्तिको विश्व कीर्तिमान राख्न सफल भएका हुन् ।उनको यो सफलता सिङ्गो अपाङ्गता भएको क्षेत्रका लागि ठूलो उत्साह हो । त्यतिमात्र होइन उनको सगरमाथा आरोहणले सपाङ्गहरुलाई पनि केही गर्नुपर्ने थप प्रेरणा दिने विश्वास गरिएको छ ।बुढामगरको सफल सगरमाथा आरोहणबाट वरिष्ठ पत्रकार माधव चम्लागाईले खुशी व्यक्त गरेका छन् ।

अपाङ्गता भएकाहरुलाई सगरमाथा आराहणमा लागेको रोकमा उनले मुद्दा नै लडेका थिए । कानूनको असमान व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडेर अपाङ्गता भएकाहरुका लागि सगरमाथा चढ्न बाटो उनैले खुलाएका थिए ।चम्लागाईले फेसबुकमा लेखेका छन्, ‘सहृदयी मित्र हरि बुढामगरले सगरमाथामा आरोहणमा पाएको सफलताले विश्वभर रहेका अपांगता भएका व्यक्तिहरुलाई थप हौसला र उर्जा मिलेको छ । झण्डै ५ वर्षको निरन्तरको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी गत चैत २१ गते काठमाडौंबाट सगरमाथाको बेस क्याम्पतर्फ लागेका थिए ।
को हुन् हरि ?
रोल्पाको थवाङ गाउँपालिकाको मिरुल घर भएका हरिको सानै उमेरदेखि सगरमाथा आरोहण गर्ने सपना थियो । त्यो सपना रोकिएको मात्र थियो । तर गएको शुक्रबार उनको लागि जीवनकै ‘गुड फ्राइडे’ भइदियो । उनको इच्छाशक्तिका अगाडि उनको शारीरिक अशक्तताले जितेन । उनले सबै तगारा पार गरे । उनले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए ।सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौं ।’ उनले गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिसको माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।सगरमाथाको सफल आरोहण गर्नुपूर्व उनले मोन्ट ब्लाङ्क ४,८१० मिटर, चुलु सुदूरपूर्व ६,०५९ मिटर, किलिमन्जारो ५,८९५ मिटर, र मेरा पिक ६,४७६ मिटर लगायतका आरोहण गरिसकेका थिए ।










