भोक्राहा नरसिंह गाउँपालिकाले ३९ जना हज यात्रीको बिदाई गरेको छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले विशेष कार्यक्रमका बिच हज यात्रीको सम्मान तथा बिदाई गरेका हुन । गाउँपालिका अध्यक्षको पहलमा हज यात्री सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरिएको थियो । संघीय सांसद ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थितिकाबिच हज यात्रीहरुको बिदाई गरिएको हो ।

कार्यक्रममा हज यात्रामा जाने ३९ जनालाई सम्मान तथा ब्याग बितरण गरिएको थियो । उनीहरुलाई हज यात्राको सहजता सँगै प्रार्थना विधि र प्रकृया लगायतका बारेमा प्रशिक्षण समेत दिइएको थियो ।
कार्यक्रममा बोल्ने मुस्लिम अगुवाहरुले सांसद कार्कीका सामून्नेमा हज यात्रामा जानेहरुबाट राज्यले लिने रकम महँगो भएको गुनासो पोखेका थिए ।
उनीहरुले हज यात्रीले चर्को रकम तिरेर पनि सहजताको अनुभूति भने गर्न नपाएको भन्दै सरकार समक्ष आवाज उठाउन कार्की समक्ष आग्रह गरे ।
सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अजमल आजादले हज यात्री मार्फत सिङ्गो पालिका र मुलुकको समृद्धि र बिकासको कामनाको अपेक्षा रहेको बताए । उनले हज यात्रीकालागि आफु र पालिकाको तर्फबाट यथासक्य सहयोग रहने बताए ।
अध्यक्ष आजादले हज यात्रीका गुनासोहरु राज्यले अविलम्ब सम्बोधन गर्नु पर्ने समेत माग गरे । सम्बोधनका क्रममा कार्यक्रमका प्रमुख अतिथि सांसद कार्कीले हज यात्रीका गुनासा र समस्या बारे सदनमा आवाज उठाउने बताए ।
उनले हज यात्रामा जाने सबैलाई शुभकामना व्यक्त गर्दै विशेष प्रकारको नमाज र प्रार्थनाका क्रममा राष्ट हीतको कामना गर्न आग्रह समेत गरे । मुस्लिम समुदायमा साउदी अरबको मक्कामा गएर हज गर्नुलाई जीवनको ठुलो र महत्वपूर्ण धार्मिक उपलब्धिका रुपमा लिने गरिन्छ ।











