काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी आज (सोमबार) रिहाइ हुँदैछन् । घटनामा दोषी ठहर भइ जेल सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरी आज रिहाइ हुने भएका हुन् ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी दिएसँगै चौधरी रिहाइ हुन लागेका हुन् । हिजो आइतबार नै मन्त्रिपरिषद्को बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी दिइएको जनाएको छ ।पछिल्लो ६ वर्ष देखि डिल्लीबजार कारागारमा रहेका चौधरी आज बिहान ८ बजे जेलमुक्त हुन लागेका हुन् । उनलाई लिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नागरिक उन्मुक्तिका नेता कार्यकर्ता बिहानै डिल्लीबजार कारागारबाहिर भेला भइसकेका छन् । अध्यक्ष रञ्जिता रेशकी पत्नीसमेत हुन् ।

रेशम रिहा हुने निश्चित भएपछि उनको गृहजिल्ला कैलालीबाट नागरिक उन्मुक्तिका नेता–कार्यकर्ता हिजै (आइतबार) काठमाडौं आएका थिए । उनलाई अहिले बिहान ८ बजे रिहा गर्ने तयारी रहेको बताइएको छ । टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।यसैगरी, चौधरीलाई जन्मकैदको फैसला गर्ने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको थियो । गत जेठ २ गते मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाई दिन अस्वीकार गरेको थियो । टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात जना प्रहरी र एक बालकको सामूहिक निर्मम हत्या भएको थियो ।










