काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण पूरा गरी आज (शनिबार) स्वदेश फर्किदै छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार भारत गएका प्रधानमन्त्री आज बेलुकी फर्कने कार्यसूची छ ।

प्रधानमन्त्रीले आफ्नो चार दिने भारत भ्रमण पूर्णरूपमा सफल भएको र यसले नेपालको आर्थिक समृद्धि र विकास प्रक्रियामा नयाँ इँटा थपेको बताएका छन् । भारतमा पत्रकारसँगको कुराकानीमा उनले भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता आफैंमा महत्वपूर्ण रहेको र समग्र देशको हितलाई केन्द्रमा राखेर आफूले छलफल गरेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको छलफलका आधारमा ऊर्जाको दीर्घकालीन व्यापारमा सहमति भएको हो उनको भनाइ छ ।

नेपालको ऊर्जा क्षेत्रमा यस प्रकारको सहमतिले ठूलो लगानी भित्र्याउन समेत बल पुग्ने उनले बताए । १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले आयात गर्ने कुरा आफैमा ऐतिहासिक र महत्वपूर्ण रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । निजी क्षेत्रले उठाउँदै आएको मागबमोजिम बिजुली व्यापारमा भएको सहमतिले नयाँ विश्वास र आधार तयार पारेको उनले बताएका छन् ।प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको बिजुली बङ्गलादेश लैजाने विषयमा समेत सहमति भएको छ । बङ्गलादेशले तत्कालका लागि ५० मेगावाट बिजुली लैजाने भएको छ । त्यसका लागि भारतीय पूर्वाधार प्रयोग गर्नुपर्छ । प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र बङ्गलादेशबीच अब त्रिपक्षीय सहमति नै भएकोे भनेर मान्न सकिने बताए ।

प्रधानमन्त्रीले लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको र हरेकजसो प्रधानमन्त्रीको भारत भ्रमणमा चर्चामा आउने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा समेत महाकाली सन्धिको मर्मअनुसार अगाडि बढ्न आफूहरू सहमत भएको बताएका छन् । यस्तै, नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान नगर्दासम्म दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्न नसक्ने र सधैँ यस्तै जटिलता रहिरहने भएकाले पनि यसलाई समाधान गर्न भारत तयार भएको उनको भनाइ छ । भारतीय प्रधानमन्त्री मोदीले नै समस्या समाधानमा लागौँ भनेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई पनि सकारात्मकरूपमा लिन सकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले स्वच्छ ऊर्जाको अभियानमा लागेको भारतले नेपालको बिजुली आयात गर्नेतर्फ केन्द्रीत हुनु र त्यसका लागि दीर्घकालीनरूपमा अगाडि बढ्न सहमत हुनु पनि आफैमा महत्वपूर्ण रहेको बताएका छन् । नेपालको बिजुलीको बजार छैन भनेर अब कोही पनि विदेशी लगानीकर्ताले लगानीका लागि डर मान्नुपर्ने अवस्थाको अन्त्य भएको प्रधानमन्त्रीको भनाइ छ ।

यस्तै, सम्पर्क सञ्जालको विस्तार, रेलमार्ग, धार्मिक पर्यटनको अभिवृद्धि तथा विद्युतीय भुक्तानीलगायतका विषयमा समेत महत्वपूर्ण सहमति भएको भन्दै प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण देशको सर्वपक्षीय हितमा नै केन्द्रीत रहेको बताएका छन् ।दिल्लीमा रहेको नेपाली दूतावासले पनि प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा महत्वपूर्ण सम्झौता भएको उल्लेख गरेको छ ।

नेपाली दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका व्यापक क्षेत्रबारे समीक्षा भएको छ । व्यापार र पारवहन, जलविद्युत, ऊर्जा व्यापार र प्रसारण लाइन, अन्तरदेशीय रेलवे, पक्की पुल, पेट्रोलियम पाइपलाइन र एकीकृत जाँच चौकी, सिँचाइ, बाढी नियन्त्रण, कृषि, संस्कृति तथा नागरिक उड्डयनलगायत क्षेत्रको समीक्षा भएको हो ।समानता, आपसी सम्मान र आपसी विश्वासका आधारमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सवल बनाउने प्रतिबद्धता व्यक्त भएको छ । दुवै पक्षबीच निर्माणाधीन परियोजनाको समीक्षा गर्दै ती परियोजना निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia