काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिपक गिरीले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएका छन् । सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको सांसद गिरीको भनाइ थियो ।

प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद गिरीले निर्वाचन क्षेत्रमा खसी मर्दा, कोही व्यक्ति हराउँदा, पहिरो जाँदा पनि सहयोग पाउँ भनेर फोन आउने गरेको बताए । ‘म आफूलाई झोले सांसद भन्न चाहन्छु । राति १२ बजे फोन आउँछ, बूढी आमाको । बाबु मेरो त खसी एउटा मर्‍यो, कहींबाट केही पाइन्छ कि !

दुई खसी पालेको थिए, एउटा मर्‍यो । सांसद बाबुले केही गर्नुहुन्छ कि भन्नुहुन्छ,’ उनले भने, ‘नेपाली जनतालाई यो सांसदले कानुन, विधि, विधेयक बनाउने हो ? आफ्नो नागरिकलाई बुझ्नुस् । उसलाई त पहिरो गयो भने माननीयज्यू पहिरो गयो भन्नुहुन्छ । आगो लाग्यो भने फोन आउँछ ।’

प्रत्येक निर्वाचन क्षेत्रमा ५ करोड बजेट विनियोजन गर्ने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरू बल्ल वडाध्यक्षसरह पुगेको भन्दै आलोचनात्मक टिप्पणी गरेका थिए । सांसद गिरीले भने मेयर शाहलाई सलाम गरेको भन्दै जवाफ दिएका छन्, ‘म त सलाम गर्छु बालेनजीलाई, उहाँले कमसेकम हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्‍याइ दिनुभयो !’

बजेटमा आयोजनाको वितरण समानुपातिक र आवश्यकताका आधारमा नभएको पनि गिरीले बताए । उनले त्यसलाई निर्वाचन क्षेत्रबाट सकरात्मक प्रतिक्रिया नआएको बताए । मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा ठूलो रकमका आयोजना छुट्याउने प्रवृत्ति कायमै रहेको उनले बताए । संसदीय मर्यादा र अभ्यास मान्ने भए पनि सरकारको यस्तो विनियोजनको आलोचना गर्ने उनको भनाइ थियो ।

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत मात्रै सबै निर्वाचन क्षेत्रमा समानुपातिक रूपमा बजेछ विनियोजन भएको सांसद गिरीको भनाइ थियो । ‘त्यै ५ करोड मात्रै सबै क्षेत्रमा समानुपातिक ढंगले गएको छ, अरु गएको छ ?,’ उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia