इटहरी । कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै बजेट सार्वजनिक गरिरहेका हुन् । उनले कृषि क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको जानकारी गराएका छन् ।

कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गराएर बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ । अल्पमतमा परिसकेको सरकारले विश्वासको मत लिन छाडेर संसद्लाई छल्दै अध्यादेशमार्फत बजेट ल्याएको आरोपसहित विपक्षी दलहरु बहिष्कारमा उत्रिएका छन् ।

अहिले कोशीमा आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट वाचन गरिरहेका छन् । कार्कीले आर्थिक मामिला मन्त्रालयमा बजेट सार्वजनिक गरिरहेका छन् । त्यहाँ मन्त्रीहरू, एमाले र राप्रपाका सांसद, मन्त्रालयका सचिवहरू, उद्योगी, व्यापारीहरुको उपस्थितिमा बजेट वाचन गरिरहेका छन् ।

१५ दिनदेखि अल्पमतको सरकार चलाइरहेका प्रदेशसभाको ठूलो दल एमालेका संसदीय दलका नेता एवम् मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बहुमत जुटाउन नसकेपछि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुको सट्टा प्रदेशसभालाई छलेर अध्यादेशमार्फत बजेट ल्याएका हुन् । बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम पेस भएपछि राति नै प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरिएको थियो ।

बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ‘कोशी प्रदेशको आर्थिक अध्यादेश २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश २०८०’ जारी गरेका हुन् । तर अल्पमतमा रहेको सरकारले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयन हुने वा नहुने भन्ने अन्योल कायम छ । संविधानको धारा २०२ बमोजिम प्रदेश सरकारले प्रदेशसभा सक्रिय नभएको अवस्थामा ल्याएको अध्यादेश ऐनसरह मान्य हुने उल्लेख छ । तर त्यसका लागि अध्यादेश जारी भएपछि बसेको प्रदेशसभाको बैठकमा पेस भएर प्रदेशसभाबाट स्वीकृत गराउनु पर्छ । नभए प्रदेशसभाको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुन्छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia