काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनका दलहरूको बैठक डाकेका छन् । आज (सोमबार) दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको उनको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । गठबन्धनभित्रको पछिल्लो अवस्थाबारे पनि आजको बैठकमा समीक्षा हुने एक नेता बताउँछन् । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा भएको छलफलबारे पनि आजको बैठकमा ब्रिफिङ गर्ने जनाइएको छ ।

हिजो (आइतबार) जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग समेत प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए । उनले राउतलाई सरकारमा सामेल हुन समेत आग्रह गरेका थिए । यस्तै कोशी प्रदेश सरकार गठनका विषयमा पनि केन्द्रमा नेताहरूबीच छलफल हुने बताइएको छ । नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेसँगै त्यहाँ नेतृत्वका लागि दलहरूबीच हानथाप चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia