इटहरी । प्रशिद्ध धार्मिक क्षेत्र बराह क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएको छ । बर्खाका कारण प्रतिकुल यात्राकाबीच पनि थुप्रै भक्तजनहरु बराह क्षेत्रको दर्शनका लागि पुगिरहेका छन् । नेपालकै प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको बराह क्षेत्र सुनसरी जिल्लाको धरानबाट चतरा हुँदै झण्डै ७ किलोमिटर उत्तरमा अवस्थित छ ।कोका खोला र कोशी नदीको संगममा अवस्थित यो मन्दिरलाई हिन्दु र किरात धर्म मान्नेहरुको सबै भन्दा पुरानो तिर्थस्थल मानिन्छ । मानिसहरुले खोलामा छेउमा पूजा गर्ने स्नान गर्ने पितृ उद्दारका लागि श्राद्ध गर्ने आदि धार्मिक तथा सांस्कृतिक कर्मकाण्डहरु पनि गर्ने गरेका छन् ।मान्दिरमा पूजा गर्न नियमित रुपमा भक्तजनहरुको भीड लाग्ने गरेको छ । यस मन्दिरमा विषेशगरी शनी दशा लाग्नेहरुको पूजा आरधना गरी ग्रह शान्तिसमेत गरिन्छ ।
मन्दिर दर्शन गर्न भारतबाट पनि थुप्रै भक्तजनहरु आउने गर्दछ । ंआफ्नो मनोकामना पूरा भएसँगै चिताएको कुरा पूरा हुने आस्था विश्वासका साथ मानिसहरु आउने गर्दछन् । मोरङको सुनवर्षी नगरपालिकाबाट पूजा गर्न पुगेकी झुमा बस्नेत बराहक्षेत्र पुगिन् । उनी तेश्रो पटक त्यहाँ पुगेकी हुन् । मन्दिरप्रति पूरा आस्था र विश्वास भएकोले उनले भाकल गरेको सबै मनोकामना पुरा भइरहेको उनले बताइन् । ‘यो मन्दिर निकै पुरानो हो र मन्दिर दर्शन गर्न आउँदा हरेक पटक उतिकै आनन्दानुभूति हुने गरेको छ,’ उनले भनिन् ।
प्राचीनकालदेखि पृथ्वीको सृष्टी भएको ठाँउ भनी मानिएको बराह क्षेत्रको शनी र गणेश मन्दिर भने जीर्ण भइसकेको त्यहाँका गुरु योगेश भण्डारीले बताए । उनले शनी र गणेश मन्दिरमा पुगेर माथा टेका मात्र गरेपनि धेरै ग्रह दशाहरुबाट मुक्त हुन सक्ने उनले बताए । त्यही भएर मानिसहरु बराह क्षेत्रमा आउने गरेको र मन्दिर सञ्चालनका लागि सहयोग समेत गर्ने गरेको उनले बताए ।
नगरपालिकाले केही हदसम्म मन्दिरको लागि सहयोग गर्ने गरेको छ । बराह क्षेत्रको भौतिक सुरक्षा अहिले पनि चुनौतीको विषय बनेको छ । तलबाट बग्ने कोशी नदीले बराह क्षेत्र तर्फ नै कटान गरिरहेको छ भने उत्तर बग्ने कोकाहको बगर पनि फैलिदै गएको मन्दिरको सुरक्षा जोखिम बढेको हो । यद्यपि सुरक्षाकर्मीहरुले निरन्तर कटान नियन्त्रण गर्ने कार्यमा सहयोग गरिरहेको उनले बताए ।
मन्दिरमा दैनिक सयौं भक्तजनहरु पुग्ने गरेका छन् । कहिलेकाँही पाइला टेक्ने ठाउँसमेत नहुने गरी भक्तजनहरुको ओइरो लाग्ने गरेको उनले बताए । तर आएका पाहुनाहरुलाई सहज रुपमा बस्ने बासस्थान (धर्मशाला)को उचित प्रबन्ध छैन । दुई ओटा धर्मशालामध्ये एउटा ठिकै अवस्थामा सञ्चालित छ भने अर्कोको सञ्चालन सन्तोषजनक छैन ।मन्दिर परिसरमा जुद्धशमशेरको पालामा बनाइएको पानीकोे ट्यांकी अहिले सुकेको छ । फिल्टर भएर आउने पानीको धाराबाट पानी चुहिन छोडेको धेरै भइसकेको छ ।
धारा मर्मर्त र ट्यांकी सञ्चालन जस्ता साधारण कामका लागि पनि स्थानीय सरकारले ध्यान नदिएको बराह क्षेत्रका स्थानीयहरुले गुनासो गरेका छन् ।मानिसहरुलाई मन्दिर आवतजावत गर्न यस पटक स्थानीय सरकारले सडक स्तरोन्नति गरिदिएको छ । तर, बाटोमा बाढी र पहिरोले गर्दा अबरोध पु¥याइरहेको छ । समयमा अवरोध हटाउने तर्फ आवश्यक ध्यान पुगेको छैन ।
वि. सं. १९९० को भुकम्पले मन्दिर भत्किएको थियो । लगतै तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले १९९२ मा मन्दिरको जीर्णाद्धार गरी ममर्त गराएका थिए । अहिले सोही मन्दिर यथावत रुपमा सञ्चालित छ । मन्दिर परिसरमा १५०० वर्ष भन्दा अगाडिका पुराना मूर्तीहरु समेत देख्न पाइन्छ ।बराह क्षेत्रको बारेमा ब्रम्ह पुराण, बराह पुराण, स्कन्द पुराणलगायत अन्य धार्मिक ग्रन्थहरुमा चर्चा गरिएकोले यसलाई पौराणिक तीर्थस्थलको रुपमा समेत चिनिन्छ । महाभारत र महाकाव्यहरुमा पनि यसका बारेमा उल्लेख गरिएको छ ।
बराह क्षेत्रमा बिष्णु भगवानले बराह स्वरुपमा अवतार लिएको विश्वास गरिएको छ । यहाँ लक्ष्मी, पञ्चायन, गुरुबराह, सूर्यबराह, कोकाबराह र नागेस्वरलगायत नौं वटा मन्दिरहरु छन् । भग्वान विष्णुले बराहको अवतार लिएर पातालमा भासिदैं गरेको पृथ्वीलाई आफ्नो दाँतले उचालेर डुब्नबाट जोगाएको र त्यसपछि आफ्नी पत्नी लक्ष्मीसँग हिमालय र पहाडको काख कोशी नदिको किनारमा आएर बसेकोले बराह क्षेत्र नामले कहलिएको धार्मिक विश्वास रहिआएको छ ।