काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते भएको यादवलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीका अनुसार नुवाकोटका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको हो । यादवको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । यसैबिच नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि आज भएको सांघातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ ।
घटनाको कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उनले बताए ।
यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जोकोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । कांग्रेसले सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।








