काठमाडौं । कान्ति बाल अस्पतालमा सोमबार भएको पाँच वर्षीया बालिकाको मृत्यु घटनाबारे सांसदहरुले सदनमा प्रश्न उठाएका छन् । मुलुककै केन्द्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने सांसदहरुको माग गरेका छन् ।
रास्वपा सांसद डा. चन्दा कार्कीले अस्पतालमा जनशक्तिको अभावले बालिकाको मृत्यु हुनु सरकारको निर्लज्जपन भएको बताइन्् । अस्पतालमा बिरामीको चापअनुसार मानव संशाधनको हिसाब गरी सोहीअनुसार सञ्चालन नगर्दा यस्तो घटना भएको उनको आरोप छ । ‘सरकारलाई लाज, शरम, डर, चिन्ता छ कि छैन ? हाम्रो निर्लज्ज्ता कहिलेसम्म ? कहिलेदेखि स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा पाउने ? सरकारको निकम्मापनको दोष कहिलेसम्म स्वास्थ्यकर्मीहरुले मात्रै आफ्नो टाउकोमा बोक्नुपर्ने हो ?,” सांसद कार्कीले प्रश्न गरिन् ।
त्यस्तै, नेकपा (एमाले) का सचेतक सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको चरम लापरबाही र गैरजिम्मेवारीपनका कारण घटना भएको बताए । ‘यो घटनासँगै अस्पतालभित्रको बेथितिको अस्पतालको निर्देशक र विकास समितिले जिम्मा लिनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गरे । ‘स्वास्थ्यमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपथ्र्यो । दोषीउपर कारबाही गरियोस्, राज्यको तर्फबाट पीडितले न्याय पाउनुपर्छ, क्षतिपूर्तिको सुनिश्चितता हुनुपर्छ । आगामी दिनमा यस्ता घटना हुन नदिने सुनिश्चितता हुनपर्छ’, उनले भने ।
त्यस्तै, नेपाली कांग्रेसका सांसद गगन थापाले उपचार सुविधा हुँदाहुँदै पनि बालिकाले अकालमा ज्यान गुमाउनु अत्यन्तै दुःखद् भएको बताए । ‘घटनालाई सामसुम नपारियोस् । यसका बारेमा सत्यतथ्य के भएको हो, छानबिन भएर सदनलाई जानकारी गराइयोस्’, उनले भने । उच्च ज्वरोपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुर्याइएकी मकवानपुर थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको सोमबार साँझ उपचारको पालो कुर्दा कुर्दै मृत्यु भएको थियो ।








