मोरङ । कोशी प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीद्वय लिलाबल्लभ अधिकारी र बुद्धिकुमार राजभण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री हिक्मत कार्कीले अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राजभण्डारीलाई ऊर्जा, खानेपानी तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै नवनियुक्त राज्यमन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङको उपस्थितिमा मुख्यमन्त्री कार्कीले पद तथा गोपनीयताको शपथ खुलाएका छन् ।
यसअघि मुख्यमन्त्री कार्कीले रामप्रसाद मेहतालाई उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले २० असोजभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन भने सकस छ ।