काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्वसम्मेलनको समापन समारोहमा सहभागी नहुने भएका छन् । अध्यक्षका उम्मेदवार माओवादी निकट राजेन्द्रकुमार शर्मा र कांग्रेस निकट अध्यक्षका उम्मेदवार महेश श्रेष्ठको दबाबपछि प्रधानमन्त्री दाहालले पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका हुन् ।काठमाडौं सोल्टी होटमा आयोजित ११औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै डा. बद्री केसीले जित हात पारेका थिए । उनी एमाले निकट हुन् ।
असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन प्रधानमन्त्रीले गर्नेगरी एनआरएनएले कार्यतालिका बनाएको थियो । पराजित भएपछि शर्मा र श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुले निर्वाचन परिणामलाई मान्यता नदिन र पुनः निर्वाचन प्रक्रिया थाल्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिन आग्रह गरेका थिए ।अध्यक्षका उम्मेदवार शर्मा प्रधानमन्त्री दाहाल निकट हुन् । प्रधानमन्त्री दाहालले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेका थिए । पराजित भएपछि उनीहरुले डा.केसी समूहले सिस्टम ह्याक गरेर आफ्नो पक्षमा नतिजा पारेको आरोप लगाएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले एनआरएनएभित्रको पछिल्लो विवादका कारण प्रधानमन्त्री नजाने निश्चित भएको बताए ।
निर्वाचन समितिका अनुसार केसी १३७८ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पराजित भए । शर्माले १२८१, श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।महेश कांग्रेसनिकट हुन् । उनी एनआरएनएको निवर्तमान उपाध्यक्ष थिए । कांग्रेसबाट डा. केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका हुन् ।अर्का प्रत्यासी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेका थिए । उनी पनि निवर्तमान उपाध्यक्ष हुन् ।
उपाध्यक्षमा अस्ट्रेलियाबाट डा. विनोद श्रेष्ठ (१५६०), यूकेबाट डा. हेमराज शर्मा (२२६५), मलेसियाबाट खगेन्द्र न्यौपाने (१३५७), कतारबाट राजु रेग्मी ‘राज’ (१९००), यूकेबाट रामशरण सिमखडा (१५५२) र जापानबाट रोविन शेरचन (२१८०) विजयी भएका छन् ।यूकेबाट रोजिना प्रधान राईले १९४७ भोट ल्याएर महिला उपाध्यक्ष जित्दा उनकी प्रतिद्वन्द्वी साउदी अरवियाबाट वेगम सैयद १९१४ मतमा रोकिइन् । युवा उपाध्यक्षमा रोसन थापा २४६८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी अब्दुल बासिदले १३२२ मत प्राप्त गरे ।संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन् ।
उपमहासचिवमा २१५० मत ल्याएर प्रवीन गुरुङ कतारबाट र १७९० मत ल्याएर सोमनाथ सापकोटा यूकेबाट निर्वाचित भएका छन् ।१५ जनाको उम्मेदवारी परेको सचिव पदमा निर्वाचित भएका ६ जना सचिवमा १६७३ मत ल्याएर भीम केसी ‘कमल’, १७८२ मत ल्याएर डा. ज्ञानेन्द्र रेग्मी, २०२४ मत ल्याएर मनोजकुमार श्रेष्ठ, १८५३ मत ल्याएर डा. नवराज रोस्यारा, १६५१ मत ल्याएर पारमणि पोखरेल र १६६६ मत ल्याएर स्वतन्त्रप्रताप शाह निर्वाचित भएका छन् ।
महिला सचिवमा राधिका गुरुङ ‘टीका’ ले २३२० मत ल्याएर विजयी हुँदा विमला सापकोटा १५३९ मतमा रोकिइन् । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानालाई हराउँदै सुदनकुमार थापा निर्वाचित भए । सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलकप्रसाद गैरे (२२३२) मत ल्याएर विजयी भए ।अमृता थापा २२८७ मत ल्याएर महिला सहकोषाध्यक्षमा विजयी भइन् । उनकी प्रतिस्पर्धी तृष्णा शर्माले १५२२ मतमात्र ल्याइन् । अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरिन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतका साथ विजयी भए ।








