काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशंका गरिएका विपिन जोशीसहित विभिन्न देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।
गएको असोज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता छन् । परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत इजरायलमा आक्रमणपछि हमास समूहले बन्धक बनाएको आशंका गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकको सुरक्षाको लागि आह्वान गरेको छ । हमासले इजराइलमा आक्रमण गरेको पहिलो दिन अक्टोबर ७ देखि कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ भाँसीका विपिन बेपत्ता छन् । जोशीको अवस्था अझै अज्ञात छ ।
गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले बेपत्ता नेपालीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।








