इटहरी डेस्क । रुसी सेनामा भर्ती हुनका लागि भन्दै बहालवाला प्रहरीले नै पासपोर्ट बुझाएर प्रक्रिया अघि बढाएको खुलेको छ । नेपालीहरुलाई अवैध रुपमा रुसी सेनामा भर्ना गराएको आरोपमा पक्राउ परेका १२ जनाबाट बरामद भएको पासपोर्टले उक्त रहस्य बाहिरिएको हो ।१२ जनाबाट बरामद भएका ४७ थान पासपोर्टमध्ये दुई थान पासपोर्ट नेपाल प्रहरीका दुई अधिकारीको रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अंगुर जिसीका अनुसार उपत्यकाकै कुनै युनिटमा कार्यरत दुई प्रहरी जवानले रुसी सेनामा भर्ना हुनका लागि पासपोर्ट बुझाएको पाइएको बताए ।
बरामद पासपोर्टमध्ये २ थान पासपोर्ट बहालावा प्रहरीकै भेटिएपछि प्रहरीले यसतर्फ पनि अनुसन्धान बढाएको छ । अहिले राजिनामा नदिने तर भिसा लागिसकेपछि राजीनामा दिएर रुस जाने उद्देश्यका साथ पासपोर्ट बुझाएको पाइएको जिसीले बताएका छन् ।त्यस्तै सशस्त्र प्रहरी बलकै एक जना असई समेत राजीनामा दिएर रुसी सेनामा भर्ना हुन भन्दै रुस पुगेर फेरि फर्किएर नेपाल आएको समेत पाइएको जिसीले बताए । पक्राउ परेका १२ जनाहरुलाई सार्वजनिक गर्दै एसएसपी भुपेन्द्र खत्रीले यो गिराहले विशेष गरी फौजसम्बन्धी ज्ञान भएकाले आर्मी, प्रहरीलाई प्राथमिकतामा राखेर रुस पठाउने गरेको बताए ।
नेपालबाट भिजिट भिसामा दुबई पु¥याउने र त्यहाँबाट रुस पु¥याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको छ। अर्कोतर्फबाट काठमाडौंबाट भारत लगेर त्यहाँबाट तेस्रो मुलुक हुँदै पनि रुस पु¥याएर रुसी सेनामा भर्ना गराउने गरेको पाइएको प्रहरीले जनाएको छ।पक्राउ परेकामध्ये उदयपुरको कटारी घर भएका हरि विश्वकर्मा यो गिरोहका नाइके रहेको खुलेको छ । उनी पूर्व नेपाली सेना समेत रहेका पाइएको छ । यसअघि म्यानपावरमार्फत विभिन्न खाडी मुलुकमा मान्छे पठाउने गरेका विश्वकर्माले पछिल्लो समय रुस युक्रेन युद्ध भएपछि नेपाली युवाहरुलाई रुसी सेनामा भर्ना गराउने उद्देश्यसहित रुस पठाउने गरेको पाइएको छ ।
विश्वकर्माले मात्रै अहिलेसम्म १८ जना युवाहरुलाई रुस पुर्याएर सेनामा भर्ना गराएको खुलेको एसएसपी खत्रीले बताए ।रुसी सेनामा भर्ना भएपछि २ लाख रुपैयाँसम्म तलब हुने, छिट्टै ग्रिनकार्ड हुने भन्ने प्रलोभन देखाएर पठाउने गरेको पाइएको छ । यो गिरोहले विभिन्न माध्यममार्फत रुसी सेनामा भर्ना हुन भन्दै विज्ञापन गर्ने र एउटा समूह बनाएर भिसा प्रोसेसिङ गर्ने गरेको पाइएको छ । यसरी विभिन्न प्रोसेसमार्फत रुस पठाए वापत एक व्यक्तिबाट १४ लाख रुपैयाँसम्म यो गिरोहले लिने गरेको पाइएको छ ।
यही गिरोहले पठाएकामध्ये अहिलेसम्म ११ जना नेपालीहरु भने फर्केर नेपाल आएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुबाट २७ लाखभन्दा बढी रकम ४३ थान पासपोर्ट बरामद भएको छ। पक्राउ पर्नेहरुमा द्रोण डाँगी, दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का र सन्तोष नेपाल रहेका छन् ।








