काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।आज (शुक्रबार) बसेको समितिको बैठकले प्रधानमन्त्री दाहाललाई आउँदो सोमबार (२५ गते) बैठकमा बोलाउने निर्णय गरेको हो । सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले जानकारी दिए ।
समितिले प्रधान सेनापतिलाई आगामी बुधबार (२७ गते) काठमाडौं–तराई–मधेश द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने पनि निर्णय गरेको छ । खतिवडाले भने, ‘२५ गते सोमबार प्रधानमन्त्रीसँग समन्वय गरेर संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी र एनसेल सम्बन्धमा के–कसो भएको हो, र अहिलेको अवस्था के हो ? त्यो पनि प्रधानमन्त्रीलाई एउटा पत्र पठाउने हामी निर्णय ग¥यौं । प्रधानमन्त्रीसहित जवाफ दिनेगरी एउटा पत्र पठाउँछौं आजै ।’
सभापति खतिवडाले विधेयकहरू माथि छलफल गर्नुपर्ने भन्दै समिति सदस्यहरुलाई नियमितरूपमा बैठकमा आउन पनि आग्रह गरे । समितिको आजको बैठकमा सदस्यले एनसेल बिक्रीका सम्बन्धमा अहिलेसम्मको यथार्थताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जानकारी लिनुपर्ने बताएका थिए । नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा सो कम्पनीको शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको आशङ्का गर्दै उनीहरुले यस सम्बन्धमा सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने बताए ।
बैठकमा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ र भरथेग भएको आशङ्का गरे । उनले सरकारद्वारा गठित समितिले गरेको छानबिनलाई समितिले पनि नजिकबाट नियाल्नुपर्ने बताए ।
सांसद प्रकाश अधिकारीले नेपालमा लगानी गर्ने विदेशी लगानीको कम्पनीले नेपालको ऐन कानुन पालना गर्नुपर्नेमा जोड दिँदै एनसेलको खरिद बिक्री सम्बन्धमा समितिले सरकारसँग जवाफ माग गर्नुपर्ने बताए । सांसद उपेन्द्र यादवले मुलुकमा कुशासन बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै सुशासन कायम गर्न समितिले सरकारलाई स्पष्ट निर्देशन दिनुपर्ने बताए ।
सांसद सरिता प्रसाईले एनसेलको शेयर किनबेचका सम्बन्धमा नियामक निकायले थाहा पाइन भन्न नपाउने उल्लेख गर्दै नेपाल दूरसञ्चार प्राधिकरसँग जवाफ माग गर्नुपर्ने बताइन् । सांसद राजेन्द्र पाण्डेले उक्त कम्पनीको शेयर बिक्री नभई बिक्रीको ‘नाटक’ गरिएको तथा सरकारको स्वामित्वमा आउने लागेका बेला चलखेल गरिएको दाबी गरे ।सांसद रघुजी पन्तले एनसेल खरिद बिक्री सम्बन्धमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई समितिमा बोलाएर जानकारी माग गर्नुपर्ने बताए । समितिका सभापति रामहरि खतिवडाले संसद्कै लेखासमितिले यससम्बन्धमा अनुसन्धान थालेको अवस्थामा अर्को समितिले प्रक्रिया अगाडि बढाउँदा विषय गिजोलिन सक्ने बताए ।
एनसेलको शेयर खरिद–बिक्रीबारे छानविन गर्न समिति गठन
सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शेयर खरिद–बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिइन् । समितिलाई ३० दिनको समय दिइएको छ ।
पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव नितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो । समितिले आजैबाट कामको सुरु गरिसकेको छ ।








