जनकपुर । जनकपुरधाममा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले रौनक बढाएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको रौनक अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै बढाएको हो ।विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ वर्ग फिटको उक्त प्रतिमालाई शनिवारदेखि सर्वसाधारणको अवलोकनका लागि समेत खुला गरिएको हो ।

यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाएका भारतको मध्यप्रदेशका सतीश गुर्जरले गरेका हुन् । कोरोना महामारीताकादेखि अन्नको प्रतिमा निर्माण गर्न शुरु गरेका गुर्जरले नेपाल भारतको साझा संस्कृतिलाई प्रचारप्रसार गर्ने उद्देश्यले निःशुल्क यो प्रतिमाको निर्माण गरेका हुन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको संयोजकत्वमा निर्माण समितिद्वारा निर्मित उक्त प्रतिमामा भगवान् सीतारामको स्वयंवरको दृश्य र राजर्षि जनक तथा गुरु विश्वामित्रको पनि प्रतिमा बनाइएको छ । प्रतिमामा ११ प्रकारका १०१ क्विन्टल अन्नको प्रयोग गरिएको छ ।

भारतीय कलाकारले निर्माण गरेको यो प्रतिमाले नेपाल भारतको साझा संस्कृतिलाई दर्शाइरहेको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिणाले बताए । पछिल्लो पटक भारतको अयोध्यामा अन्नबाटै प्रतिमा निर्माण गरेर विश्व रेकर्ड बनाएका सतीश गुर्जरकै टिमले आफ्नै रेकर्ड तोड्ने उद्देश्यले निर्माण गरिएको यो प्रतिमाले जनकपुरधामको पर्यटनलाई बढावा दिन मद्दत गर्ने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।

यो प्रतिमा निर्माण गरेर अन्नको दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेका वेला प्रतिमा निर्माणमा प्रयोग गरिएको अन्न खेर नजाने प्रतिमा निर्माण समितिले जनाएको छ। प्रतिमा निर्माणमा प्रयोग गरिएका अन्न अनाथालय, वृद्धाश्रम, मानव सेवा आश्रम लगायतका स्थानमा प्रयोग गर्न सकिने तर्क छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia